काठमाडौं, ११ बैशाख ।
फुट रोक्नलाई मध्यराती एकता भएको जनता समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेको छ । सो दल दर्ता भएमा तत्कालका लागि सांसदहरुले पार्टी फुटाउने सम्भावना छैन ।
दल दर्ताका लागि आफूहरु आयोगमा पुगेको नेता केशव झाले जानकारी दिए । समाजवादी पार्टीका सात सांसदले नयाँ दल दर्ता गर्न लागेपछि बुधबार मध्यराती समाजवादीले राजपासँग एकीकरण गरेको हो ।
एकीकृत दल दर्ता भएमा अब दुवै दलका सांसदको ४० प्रतिशत संख्या आवश्यक हुने भएकोले फुट सम्भावना छैन । समाजवादीका सांसदहरु पार्टी फुटाउन तयार भएपछि सरकारले राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याएर पार्टी फुटाउन सहज बनाइदिएका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको यो डिजाइन तत्कालका लागि असफल हुने देखिएको छ ।
फुट्न लागेका केही सांसदलाई पनि फकाइएको छ । डा सुरेन्द्र यादब तत्काल पार्टी नफुटाउने मनस्थितीमा पुगेका छन् । रेणु यादब लगायत सात सांसदले नयाँ दल घोषणाको तयारी गरेका थिए ।