Logo
Logo

सत्ता समीकरण फेरबदलको चर्चाले संसद् तरंगित


756
Shares

काठमाडौं । नेपाली कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बन्ने चर्चाले सरकार निर्माण गर्ने थलो संसद् तरंगित बनेको छ । सत्ता–समीकरण फेरबदल गर्नेगरी कांग्रेस र एमालेका नेताहरूबीच छलफल भइरहेको खबरले संसद् तरंगित बनेको हो ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसदले प्रमुख दुई दलबीच सहकार्यको कुराले उत्साह पैदा गरेको बताए ।

माओवादी सांसदले भने कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली भेट्दैमा सत्ता समीकरण फेरबदल नहुने दाबी गरे । विशेष समयमा कांग्रेस सांसद दीपक गिरीले राष्ट्रिय मुद्दामा प्रमुख दुई दल मिल्नुपर्ने बताए ।

‘चारैतिर निराशा फैलिएका बेला संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमाले शीर्ष नेताहरूबीच शुरू भएको सम्वादले आशाको सञ्चार गरेको छ । लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधनसम्मका लागि दुई ठूला दलहरूका बीच सहकार्य आवश्यक छ,’ गिरीले भने ।

उनले निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका केही महत्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक रहेको बताए ।

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादीका सांसद माधव सापकोटाले भने प्रमुख दुई दलका शीर्ष नेता भेट्दैमा सत्ता उलटपुलट नहुने दाबी गरे ।

‘दुई दिनका राजनीतिक घटनाक्रम र समाचारहरूलाई नजिकबाट नियाल्यौं भने अहिले सिंगै राजनीति तरंगित भएको छ । सत्तापक्षको दलका नेता र प्रतिपक्षका दलका नेताका बीचमा संवाद हुँदा बित्तिकै पुरै सत्ताको समीकरण उलटफेर हुने या सत्ता समीकरण नै बदलिने अवस्था होइन,’ सापकोटाले भने ।

उनले प्रमुख राजनीतिक दलका नेताहरूका बीचमा संवाद हुने कुरा सकारात्मक रहेको बताए । प्रमुख दुई दल नेपाली कांग्रेस र एमाले संविधान संशोधनमार्फत निर्वाचन प्रणालीमा हेरफेर लगायत विषयमा सहमति नजिक पुग्दैछन् ।

प्रतिक्रिया दिनुहोस्