Logo
Logo

ओलीले आफ्ना सबै मन्त्रीलाई बोलाए बालकोट, काठमाडौं नछाड्न निर्देशन


20.3k
Shares

काठमाडौं । सत्ता समीकरण फेरबदलको चर्चा भइरहेको बेला एमाले अध्यक्ष केपी ओलीले सरकारमा सहभागी पार्टीका सबै मन्त्रीलाई छलफलका लागि बोलाएका छन् ।

अध्यक्ष ओलीले आज साँझ साढे ६ बजे बालकोटस्थित आफ्नो निवासमा मन्त्रीहरूलाई छलफलका लागि बोलाएका हुन् । साथै, उनले तत्काल उपत्यका नछाड्न मन्त्रीहरुलाई निर्देशन समेत दिएका छन् ।

ओलीको उक्त निर्देशनसँगै केही मन्त्रीले भोलि (मंगलबार)का लागि तय भएको राजधानी बाहिरका कार्यक्रम पनि रोकेको जानकारी सचिवालयलाई गराइसकेका छन् । एमालेबाट उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात रघुवीर महासेठसहित ८ जना मन्त्री छन् ।

पछिल्लो समय प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबीच द्विपक्षीय भेटवार्ता बाक्लिएका वेला एमाले अध्यक्षले मन्त्रीहरूलाई सामूहिक रूपमा भेटका लागि बोलाउनुलाई सत्ताराजनीतिमा चासोका साथ हेरिएको छ ।

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली तथा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बेग्लाबेग्लै भेटवार्ता चलिरहेका छन् ।

ती भेटवार्तामा लामो समयसम्म नेताहरू छलफलमा बसेको देखिन्छ। प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षबीच आजै पनि भेटवार्ता भएको छ ।

ओली र देउवाको पछिल्लो भेटपछि भने राजनीतिक वृत्त तरंगित बनेको छ। सामाजिक सञ्जालहरूमा त्यसलाई सम्भावित सत्तापरिवर्तनको तयारीका रूपमा चर्चा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्