काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगामी कदम चालेपछि त्यसको विरुद्धमा उभिएका माधवकुमार नेपाल र झलनाथ खनालले विद्रोह गरेर स्थापना गरेको पार्टी नेकपा (एकीकृत समाजवादी) १०औँ राष्ट्रिय महाधिवेशनमा छ ।
२००६ सालमा पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीकै निरन्तरताको रुपमा एकीकृत समाजवादीले १०औँ महाधिवेशन आयोजना गरेको हो । यसअघि तत्कालीन अध्यक्ष झलनाथ खनालको अध्यक्षतामा एमालेको नवौँ महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको थियो ।
१०औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरूले जोड दिएका छन् । महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निम्ता दिएको भए पनि माधव नेपालको गाली सुन्न किन जाने भनेर ओली त गएनन् । महासचिव शंकर पोखरेलले पनि जाने आँट गरेनन् । एक प्रकारले एमालेले बहिस्कार नै ग¥यो ।
महाधिवेशन प्रतिनिधिहरूले पार्टी आधारभूत तहमा किन जान सकेन, गत निर्वाचनमा पार्टी किन पछाडि प¥यो, एमसिसीको मुद्दा उठाएर बिचैमा किन छाडियो, अब कसरी अगाडि बढाउने भन्ने विषयमा महाधिवेशन हलमा व्यापक विचार विमर्श भएको छ ।
ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेपछि संविधानको रक्षाका लागि विद्रोह गर्नुपरेको थियो । संविधानको रक्षाका लागि र एमाले ओली गुटमा परिणत भएको, प्राइभेट लिमिटेडजस्तो बनाएको, इमानदार नेता तथा कार्यकर्तामाथि अन्याय र अत्याचार भएपछि विद्रोह गरिएको र विद्रोहको औचित्य पुष्टि भएको अध्यक्ष नेपालले बताएका छन् ।
संविधान निर्माणपछि दुईवटा चुनाव सम्पन्न भइसकेको र पहिलो चुनावबाट नेकपा झन्डै दुई तिहाइ बहुमतमा थियो । जनताले दिएको उक्त ऐतिहासिक अवसरलाई ओलीले दुरुपयोग गरेर संविधान मास्ने काम मात्रै गरेनन्, दुई तिहाइको पार्टी पनि ध्वस्त बनाउने काम गरे ।
‘पार्टीमा आफू खुसी निर्णय हुन थाले, भएका सहमतिहरूलाई तोड्दै गएको अनुभूति हुन थाल्यो, ‘मेरो कुर्सी कसैले ताक्यो भने कुर्सी नै भाँची दिने’ ओलीको भनाइले पार्टी कसरी चलेको थियो भनी पुष्टि हुन्छ,’ अध्यक्ष माधवकुमार नेपालको यिनै भनाइहरू नै विद्रोहका लागि काफी थिए ।
एमसीसीको विषय होस् या विदेशी एजेन्सीसँग भेटेको कुरा होस् वा भ्रष्टाचारको घटना होस् ती सबै कुरामा ओली फस्दै गएको थिए । ओलीमा गुटवाद र सङ्कीर्णता देखिएको थियो ।
महाधिवेशनमा सबैभन्दा महत्त्वपूर्ण कुरा वामपन्थी एकताका लागि एमाले र त्यसको नेतृत्व ओलीगुट बाधक रहेको विषयमा बहस र चर्चा भयो । विद्रोहका कारण २०७९को निर्वाचनमा एमालेले कम्तीमा २० सिट गुमाएको र वामपन्थीहरुको बचश्वलाई कमजोर बनाउन एमालेका अध्यक्ष ओलीको भूमिका रहेको विषयमा गम्भीर बहस र छलफल चल्यो ।
ओलीले करिब दुई तिहाइ बहुमतको संसद् विघटन गरेर अक्षम्य अपराध गरेको र यसको प्रायश्चित ओलीले गर्न नसकी अहिले पनि सत्य साबित गर्न खोजेको विषयमा पनि महाधिवेशनमा बहस भएको छ ।
‘ओलीकै कमजोरीका कारण मुलुक वामपन्थी आन्दोलनका लागि बाधक बनेको छ’, महाधिवेशनको मुख्य बहस बनेको छ । वामपन्थी तथा परम्परागत पार्टीहरूको लोकप्रिय जनमत घटेको र राजावादी शक्ति, संघीयता विरोधी शक्तिलगायत विभिन्न शक्ति लोकप्रिय भएर आउनुको पछाडिको कारण पनि ओली नै रहेको विश्लेषण गरिएको छ । विद्रोहको औचित्य पुष्टि भएको निष्कर्ष महाधिवेशन निकालेको छ ।
अध्यक्ष नेपालले जनतालाई जागरूक बनाउन सकिएन भने वामपन्थी आन्दोलनको रक्षा नहुने बताउँदै साम्राज्यवादी शक्तिहरू जुन रुपमा आएका छन् त्यसले युद्धको खतरा देखिएको टिप्पणी गरेका छन् । ‘कम्युनिष्ट पार्टीमा पनि विभिन्न भ्रष्टिकरणहरु देखिएका छन्, टिकट पाए भने सक्रिय हुने, समानुपातिकमा परिए मात्र सक्रिय हुने प्रवृत्ति देखिएको छ, यदि त्यो प्रवृत्ति केन्द्रीय कमिटीमा छ भने त्यसलाई छुट दिन सकिँदैन । पहिला जे भयो, त्यो भयो अब त्यस्तो प्रवृत्ति दोहोरियो भने छुट दिन सकिँदैन, आन्दोलन जारी रहने र त्यो आँट यो पार्टीमा रहेको छ’, नेपालको धारणा रहेको छ ।
अहिले सरकारमा रहेका दलहरूसँग नैतिकता नरहेको र सरकारमा देखिएको गलत प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने पनि महाधिवेशनमा बहसको विषय बनेको थियो । ‘चुनावी परिणाम आइसकेपछि नयाँ शक्ति सन्तुलन बन्यो, प्रचण्डलाई प्रधानमन्त्री दिने कुरा थियो, तर एमालेले देउवालाई प्रधानमन्त्रीमा ढुक्क रहन भन्यो । अन्ततः एमालेले प्रचण्डलाई लगेपछि फेरि प्रचण्ड कांग्रेससँगको सहकार्यमा फर्किए । अहिले पुनः प्रचण्ड एमालेको सहकार्यमा पुगेका छन् । प्रचण्डलाई एमालेले कहिलेसम्म थेग्ने हो थाहा छैन, खटपट सुरु भइसकेको छ’, महाधिवेशनमा अहिलेको वर्तमान परिस्थितिबारे समेत बहस भएको छ ।
मूलतः अहिलेको महाधिवेशन एमालेबाट विद्रोह गरेर पार्टी अध्यक्ष नेपालले संविधान बचाएको र राजनीतिक स्थिरता कायम गरेको विषयमा केन्द्रित रहेको छ । ‘विद्रोहबाहेक अर्को कुनै विकल्प थिएन । विद्रोह गरेर संविधान बचायौँ । विद्रोह गरेर राजनीतिक स्थिरता कायम गर्याैँ । विद्रोह गरेर हामीले मुलुकलाई सही दिशामा अगाडि बढाउन भूमिका निर्वाह गर्याैँ । अत्यन्तै सही काम गर्याैँ । कम्युनिस्ट आन्दोलनलाई जोगायौं,गलत प्रवृत्तिका विरुद्धमा जुध्यौँ र आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन फेरि पनि पार्टीलाई क्रान्तिकारी करण गर्न नयाँ पार्टी निर्माण गर्याैँ ।
नयाँ पार्टी गठन गरेर, विद्रोह गरेर न्यायोचित काम गर्याैँ । नभए हामी हराइसकेका हुन्थ्यौँ । आत्मसमर्पण गर्नुपर्ने अवस्था बन्थ्यो । हामीले ती सबै कुराहरूलाई स्वीकार गरेनौँ । हामीले समर्पण गरेनौँ । धेरै मान्छेलाई निराश हुनबाट जोगायौँ,’ अध्यक्ष नेपालले पार्टीले आफ्नो छुट्टै उपस्थिति देखाएको र आफ्नो भूमिकालाई स्थापित गरेको बताएका छन् ।
एमालेबाट विद्रोह गर्नुको कारणबारे अध्यक्ष नेपालले खुलाएका प्रमुख कारणमा एमाले अध्यक्ष ओलीले अङ्गीकार गरेको गलत विचार र उनले गरिरहेको गलत व्यवहार रहेको छ । ओलीले पार्टीका सिद्धान्त, नीति, विचार र पार्टीको नवौँ महाधिवेशनबाट पारित गरिएका निर्णयअनुसार नचल्नु रहेको थियो ।
पार्टीको नवौँ महाधिवेशनले मुलुकलाई वैज्ञानिक समाजवादको दिशामा अगाडि बढाउने मूल नीति पारित गरेको थियो, तर त्यही महाधिवेशनबाट पार्टी अध्यक्षमा चुनिएका ओलीले महाधिवेशनका निर्णय बोक्दै बोकेन । ओली पार्टी महाधिवेशनप्रति इमानदार भएनन् । उनले नवौँ महाधिवेशनका निर्णय पालना नगरी आफूखुसी चल्ने काम गरेकाले पार्टीमा गम्भीर मतभेद उत्पन्न भयो ।
यसैबिच, तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच एकता गरेर निर्माण गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षका रूपमा रहँदा पनि ओली पार्टीका नीति र विधिअनुसार कहिल्यै चलेनन् ।
त्यतिबेला मुलुकको प्रधानमन्त्रीसमेत रहेका उनले सरकार पनि पार्टी नीति र जनअपेक्षाअनुसार चलाएनन् । उनले मुलुकको संविधानअनुसार सरकार नचलाएको र संविधान विपरीत कार्य गर्न थालेका कारण पार्टीमा गम्भीर मतभेद र विवाद उत्पन्न भएको उल्लेख गर्दै नयाँ पार्टी निर्माणको औचित्य रहेको अध्यक्ष नेपालको दाबी छ ।
साथै, ०७७ पुस ५ मा असंवैधानिक ढङ्गले प्रतिनिधिसभाको विघटन गर्न सिफारिस गरेपछि पार्टीमा विवाद चरम चुलीमा पुग्यो र तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपले दुई भागमा विभाजित भयो ।
०७५ जेठ ३ मा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निर्माण हुनु नेपाली कम्युनिस्ट आन्दोलनलाई आधारभूत रूपमा एकीकृत गर्ने एउटा ऐतिहासिक घटना थियो, तर ओलीकै गलत विचार र व्यवहारका कारण त्यो ऐतिहासिक एकता टिक्न सकेन ।
०७७ फागुन २३ मा अदालतको फैसलाद्वारा त्यो एकता भङ्ग भयो । अदालतको उक्त फैसलाले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्वावस्थामै फर्कनुपर्ने स्थिति सिर्जना भएको थियो ।
त्यस अवस्थामा नेकपा (एमाले) को ०७५ जेठ २ सम्म कायम रहेको केन्द्रीय कमिटीको पूर्ण बैठक बसेर अब कसरी अगाडि बढ्ने हो भन्ने सम्बन्धमा निर्णय लिनुपर्दथ्यो । पार्टी अध्यक्षको जिम्मेवारीमा रहेका ओलीले त्यसका निम्ति पहल गर्नुपर्दथ्यो । तर, ओलीले त्यस्तो कुनै पनि पहल नगरी ‘केन्द्रीय कमिटीको विशेष बैठक’ भन्ने नाम दिएर पार्टीभित्रको आफ्नो गुटको मात्र बैठक बसी नेकपा (एमाले) को नवौँ महाधिवेशनका निर्णयहरू उल्टाउने, महाधिवेशनबाट पारित पार्टी विधानमा संशोधन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको पद खारेज गर्नेजस्ता निर्णय गरी नेकपा (एमाले) लाई विभाजनतर्फ धकेलिदिएका थिए ।
यस्तो विषम परिस्थितिमा नेपालले २०७७ चैत ४–५ मा राष्ट्रिय कार्यकर्ता भेला गरेर गम्भीर एवं गहन रूपमा छलफल गरी ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने आह्वान गरेका थिए । तर ओलीले एकताका लागि पहल गर्ने होइन कि उल्टै निरन्तर रूपमा विभाजनकारी क्रियाकलाप अगाडि बढाएपछि अहिलेको पार्टी जन्मेको नेपालको धारणा थियो ।
ओलीले सांगठनिक हिसाबले विभाजनकारी गतिविधि गरेको मात्र होइन पार्टीले अँगालेका सिद्धान्त एवं विचार र नवौँ महाधिवेशनले तय गरेको कार्यदिशालाई समेत लत्त्याउने तथा पार्टी विधानको पूरै उल्लङ्घन गर्नेजस्ता कार्य गरी पार्टीलाई विसर्जनको दिशामा धकेल्ने तथा व्यक्तिगत गालीगलौजमा समेत उत्रिने,पार्टी एकताको पक्षमा रहेको भान पार्न अनेकौँ प्रकारका चालबाजी र नाटक गर्ने, तर वास्तवमा पार्टी एकतामा अगाडि बढ्न नचाहने जस्ता गतिविधिले पार्टी पुनर्गठन गर्नुपर्ने आवश्यकता रहेको विषयमा पनि महाधिवेशनमा छलफल भएको थियो ।