Logo
Logo

मुकुल प्रतिवेदनले रास्वपामा भाँडभैलो


3.7k
Shares

काठमाडौं । युवाहरुको प्रतिनिधित्व भन्दै पुराना दललाई गाली गरेर संसदमा चौथो ठूलो दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको विवाद अहिले छताछुल्ल भएको छ । महामन्त्री मुकुल ढकालले पार्टीभित्र शल्यक्रिया गर्नुपर्ने भन्दै प्रतिवेदन बुझाएपछि विवाद छताछुल्ल भएको हो । महामन्त्री ढकाल र केन्द्रीय सदस्य गणेश कार्की लगायतका नेताहरु सभापति रवि लामिछानेको गलत प्रवृत्तिका विरुद्ध खुलेर लागेका छन् ।

महामन्त्री ढकालले पार्टी दुर्घटना उन्मुख अवस्थामा रहेको निष्कर्ष सहितको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएपछि केन्द्रीय समितिको बैठक नै बोलाइएको छ । बुधबार (भोली)बाट केन्द्रीय समितिको बैठक बोलाएपछि ढकाल र कार्कीले बैठकलाई प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग गरेका छन् । ढकाललाई अनुशासन आयोगले लगाम लगाउन खोज्दै उनले दिएको प्रतिवेदनलाई शंका गरेको छ । ढकालले भने प्रतिवेदनमा पार्टी नीतिगत र संगठनात्मक रूपमा कमजोर रहेको उल्लेख गरेका छन् ।

यसै विषयलाई लिएर महामन्त्री ढकालमाथि पार्टीले कारबाही नै गर्न सक्ने आशंकाका बीच ढकाललाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको थियो । सभापतिलाई प्रतिवेदन बुझाउनु पहिले नै प्रतिवेदनमा समेटिएका विषय मिडियामा ल्याएको भन्दै अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो ।

अनुशासन समितिका एक सदस्यका अनुसार महामन्त्री ढकालले आफूले तयार पारेको प्रतिवेदन सभापति लामिछानेलाई बुझाउनु पहिले नै सञ्चार माध्यमा ल्याएको र बुझाइसकेपछि सञ्चार माध्यममा किन सार्वजनिक गरेको भन्दै कारणसहित १ हप्ताभित्र जवाफ पेस गर्न निर्देशन गरिएको आयोगका एक सदस्यले जानकारी दिए ।

पार्टीमा अहिले महामन्त्री ढकाललाई कारबाही गर्नुपर्ने मत बलियो छ । कारबाही गर्दा बाहिर नकारात्मक सन्देश जाने हुनाले जिम्मेवारीविहीन बनाएर यथास्थितिमा राख्नुपर्ने मत पनि पार्टीमा छ । महामन्त्री मुकुल ढकालले भने सभापति बाहेक अरूले आफूलाई स्पष्टीकरण सोध्न नमिल्ने बताएका छन् । तर अनुशासन आयोगले भने पार्टी विधानको धारा ५५ र ५६ अनुसार सोधिएको बताएको छ ।

महामन्त्री ढकालले पार्टीका आन्तरिक विषयलाई बाहिर ल्याउनु अनुशासन विपरीत भएको आयोगको ठहर छ । ढकाललाई अनुशासन आयोगका कार्यवाहक प्रमुख यज्ञमणि न्यौपानेको नाममा स्पष्टीकरण सोधिएको थियो । ढकालले केन्द्रीय समितिको बैठकमा स्पष्टिकरण दिने बताइसकेका छन् ।

पार्टी स्रोतका अनुसार सभापति लामिछानेकै निर्देशनमा ढकाललाई स्पष्टीकरण सोधिएको हो । सभापति लामिछानेले उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेलगायका नेताहरूसँग दुई चरणमा छलफल गरेपछि ढकाललाई स्पष्टीकरण सोध्नका लागि निर्देशन दिएको रास्वपा स्रोतले जनाएको छ ।

ढकाललाई कारवाही गरिए पार्टीका धेरै केन्द्रीय सदस्यहरुले विद्रोह गर्ने अवस्था सिर्जना हुने र सांसदहरु पनि विभाजित हुने अवस्था रहेको स्रोतले जनाएको छ । स्थापनाको दुई वर्षमै पार्टीभित्र विचलन आएको र सभापति लामिछानेकै कारण पार्टीमामस्या उत्पन्न भएको कतिपय केन्द्रीय सदस्यहरुले बताएका छन् । ‘समस्याको जड सभापति रवि नै हुन, उनको हुकुमी शासन चल्छ, मुखाग्र नियम चल्छ’, ती केन्द्रीय सदस्यको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्