काठमाडौं । नेपाली कांग्रेसले महत्त्वपूर्ण मुद्दा र आम जनताको चासोको विषयलाई केन्द्रमा राखेर एमालेसँग सहकार्यको समझदारी भएको बताएको छ ।
मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले एमालेसँग सहकार्य गरेर सरकार बनाउने सहमति सरकारमा जानुपर्छ भन्ने मान्यताभन्दा माथि बसेर निर्णय भएको बताए ।
‘सरकारमा जसोतसो जानुपर्छ भन्ने मान्यताभन्दा निकै माथि बसेर भएको निर्णय हो । खालि सत्तामा जानका लागि मात्रै यो समझदारी गरेका होइनौँ । महत्त्वपूर्ण मुद्दालाई आम जनताको चासोको विषयलाई केन्द्रमा राखेर एमालेसँग समझदारी भएको हो,’ उनले भने ।
साथै, उनले राष्ट्रिय सरकार बनाउने प्रयास भएको भन्दै केपी शर्मा ओली र शेरबहादुर देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने र अन्य दललाई पनि समावेश गरिने बताए ।
‘छलफल हुन्छ । विस्तारै सबै दलसँग कुराकानी गर्छौं,’ उनले भने, ‘दुई तिहाई पुर्याउने मात्रै कुरा छैन, समग्रमा राष्ट्रिय सहमतिको सरकार बनाउनेतिर नै केन्द्रीत हुन्छौँ।’
त्यस्तै उनले कांग्रेसले राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार र संविधानमा आवश्यक संशोधन गर्नका लागि एमालेसँग सहमति गरिएको बताए ।
प्रवक्ता महतको भनाइः
अहिलेसम्मको अनुभवका आधारमा संविधानमा आवश्यक संसोधनका लागि राष्ट्रिय सहमति निर्माण गर्ने हिसाबले दुई दलको बीचमा सँगै अगाडि बढ्ने र आवश्यकता अनुसार अरु दललाई पनि समावेश गर्ने भनेर राष्ट्रिय सहमतिकै सरकारको नाम दिइएको छ । नेतृत्व आलोपालो हुन्छ निर्वाचनसम्म । त्यसमा अरु दललाई संलग्न गर्न सकिन्छ । वृहत्तर राष्ट्रिय हितमा समझदारी बनेको छ । लिखित समझदारीमा नेतृत्व आलोपालो गर्ने मात्र छ । एकपटक ओलीजीले र अर्कोपटक शेरबहादुरजीले गर्नुहुन्छ ।
लोकतन्त्र र संविधान नै खतरामा परेको अवस्थामा प्रथम र दोस्रो दल एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकता बनेको हो । सत्तामा जसरी पनि जानुपर्छ भन्ने मान्यताभन्दा माथि उठेर यो समझदारी गरिएको छ । प्रधानमन्त्रीले तत्काल राजीनामा नदिएमा के हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा डा.महतले सबैभन्दा ठूलो दलले समर्थन फिर्ता लिइसकेपछि नेतृत्व आफैंले बुझ्नुपर्ने बताए ।