Logo
Logo
समाचार टिप्पणी

समाजवादी आन्दोलनको प्रभावकारी नेतृत्व गर्ने अवसर


1.4k
Shares

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र ७० वर्षको बलिदानबाट प्राप्त भएको उपलब्धि हो । आजको अवस्थामा आइपुग्न कयौँ शहीदहरूले बलिदानी दिएका छन् । आम जनताले कम्युनिष्ट पार्टीलाई भरोसा गरेर इतिहासमा दुई तिहाइ मत दिएका थिए । त्यो मतलाई सदुपयोग गरेर गएको भए नेपालमा कम्युनिष्ट सरकार लामो समयसम्म रहन सक्थ्यो । त्यो सरकारले आर्थिक विकासमा प्रभावकारी रुपमा काम गरेर देखाउन सक्थ्यो ।

शिक्षा, स्वास्थ्य, रोजगारीलगायत जनताका समस्या समाधान गर्नेदेखि समाजवादी कार्यक्रम लागू गर्न सक्थ्यो । द्रुत गतिमा आर्थिक परिवर्तनका साथ एक दशकमै देश समृद्धिको बाटोमा लाग्ने थियो । तर, दुर्भाग्य तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा दुई दुई पटक संसद् विघटन मात्रै गरेनन्, आफ्नो पार्टीभित्र उनले तानासाही, अधिनायकवादी प्रवृत्ति लादेर कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न पार्ने काम गरे ।

संसद् विघटनपछि विद्रोह गरेर माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेता तथा कार्यकर्ता एमालेबाट विद्रोह गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माण गरे । यो पार्टी रहरले जन्मिएको होइन, कहरले जन्मिन बाध्य भएको हो । यदि, यो पार्टीले विद्रोह नगरेको भए आजसम्म शहीदको बलिदानी, जनताको संघर्षबाट प्राप्त सारा उपलब्धि गुम्ने थियो । मुलुक पुनः प्रतिगामी र पुनरुत्थानवादीको हातमा पुग्ने थियो ।

ओलीको असंवैधानिक, निरंकुश र अधिनायकवादी कार्यशैलीप्रति विद्रोह गरेर गठन भएको एकीकृत समाजवादी १०औँ राष्ट्रिय महाधिवेशनमा छ । एमालेबाट विद्रोह गर्नु सही थियो भन्ने कुरा विभिन्न घटनाक्रमले पुष्टि गरिसकेको छ ।

यद्यपि, कतिपय सवालमा कमजोरी पनि भएका छन् । नेता केन्द्रित कार्यकर्ता होइन, जनता केन्द्रित कार्यकर्ता बनाउनुपर्छ । नेता कार्यकर्तासँग र कार्यकर्ता जनतासँग पुग्ने अवस्थामा मात्रै पार्टी सुदृढ बन्छ । कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्दै अगाडि बढेमा आगामी दिनमा सैद्धान्तिक स्पष्टता, नयाँ संगठन संरचना र कार्य प्रणालीको आधारमा समाजवादी आन्दोलनको प्रभावकारी नेतृत्व गर्न सक्ने पार्टी बन्नेछ ।

महाधिवेशनबाट एकीकृत समाजवादीले नेपाली विशेषताको समाजवादी कार्यक्रम ल्याउँदै छ । समाजवादी क्रान्तिको कार्यक्रम हालसम्म कुनै पनि दलले ल्याउन सकेका छैनन् । यो कार्यक्रमले एकीकृत समाजवादीलाई मात्रै नभई सिंगो देशलाई नै अगुवाइ गर्नेछ ।

एकीकृत समाजवादीसँग सैद्धान्तिक स्पष्टता, समाजवादी कार्यक्रम, नयाँ संगठन संरचना र कार्यप्रणालीसहित समाजवादी आन्दोलनको नेतृत्व गर्ने अवसर प्राप्त छ । त्यसका लागि नीतिमा जस्तै नेतृत्वमा पनि सहमति कायमै गर्दै अघि बढ्नुपर्ने ऐतिहासिक आवश्यकता छ ।

समाजवादको गफ हाँकेर मात्रै हुँदैन, व्यवहारमै लागू गर्नुपर्छ । संविधानमै मुलुक समाजवाद उन्मुख भनिएको छ । त्यसकारण संविधानमा उल्लेखित मौलिक अधिकार मात्रै कार्यान्वयन गर्ने हो भने पनि मुलुकले समृद्धिको बाटो समाउँछ । दूरदराजमा बसेका भुँइ मान्छेले पनि लोकतान्त्रिक गणतन्त्रको अनुभूति गर्नेछन् ।

एकीकृत समाजवादीको महाधिवेशन उद्घाटन सत्रमा उपस्थिति विभिन्न दलका शीर्ष नेताहरूले पनि यही कुरामा जोड दिएका छन् । १०औँ महाधिवेशनले कम्युनिष्ट आन्दोलनको विगतको समीक्षा, कम्युनिष्ट नेताहरूको चरित्र र व्यवहार, अवसरवादी प्रवृत्ति, विकृति, विसंगति, भ्रष्टाचार सबै कुरीतिलाई अन्त्य गर्ने प्रण गर्नुपर्छ ।

नेपाली समाजको प्रगतिशील रूपान्तरणको लागि ऐतिहासिक भूमिका खेल्नुपर्ने बेला आएको छ । यही उद्देश्य, लक्ष्य बोकेर देशभरिका एकीकृत समाजवादी पार्टीका नेता, कार्यकर्ता १०औँ महाधिवेशनमा सहभागी भएका छन् ।

एमालेबाट विद्रोह गरेर आएका इमानदार, नैतिकवान, जुझारु कार्यकर्ता समाजवादीमा आबद्ध भएका छन् । विगतमा एमाले बनाउन पचासौँ वर्ष संघर्ष गरेका समाजवादीका नेता तथा कार्यकर्ताहरूमा अझै पनि पार्टी बनाउँछु, देश बनाउँछु, जनताको सेवा गर्छु भन्ने भावना छ । त्यो भावनालाई समेट्दै एकीकृत समाजवादी अगाडि बढ्न सक्यो भने पक्कै पनि पार्टी बन्छ, देश बन्छ भन्ने आशा र विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्