काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेस र नेकपा एमालेबिचको सत्ता समीकरण गर्ने सहमतिलाई चरम अवसरवाद भनेर टिप्पणी गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले सत्ता परिवर्तनलाई चरम अवसरवादको संज्ञा दिएका हुन् ।
सोमबार मध्यराति नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको नयाँ सत्ता समीकरण गर्ने सम्झौता भएपछि विभाग प्रमुख खतिवडाले उक्त धारणा व्यक्त गरेका हुन् । एकीकृत समाजवादीको महाधिवेशनस्थल कमलादीमा नेता खतिवडाले यस्तो बताएका हुन् ।
‘संसद्का ठुला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति हो । बहुदलीय राजनीतिको अपचलन संस्कृति हो । मुलुकलाई अस्थिरताको चक्रव्यूहमा फसाउने काम मात्र हो’ खतिवडाले भने, ‘कांग्रेस र एमाले मिलेर सत्ता चलाउने कुरा नमिल्दो कुरा हो । यो लोकतन्त्रका निम्ति पनि खतरा हो । प्रणालीलाई कमजोर पार्ने काम भएको छ । सत्ता सम्झौतालाई लिएर संविधानको मर्मविपरीत संविधान संशोधन गर्छौँ भन्ने कुरा हामीलाई मान्ने छैन ।’