नेकपा एकीकृत समाजवादी पार्टीको महाधिवेशन काठमाडौंमा सुरु भएको छ । नेकपा एमालेबाट विभाजित यो दलले लामो समयपछि आफ्नो पहिलो महाधिवेशन आयोजना गर्न लागेको हो । यसअघि पटक पटक महाधिवेशन मिति घोषणा गरिए पनि निर्धारित मितिमा महाधिवेशन हुन सकेको थिएन । त्यसका पछाडि जे जे कारण भए पनि अन्ततः महाधिवेशन सुरु भएको छ । अहिलेका लागि यो नै सुखद पक्ष हो ।
हरेक राजनीतिक पार्टीको जीवनमा पार्टी महाधिवेशनको अहम् महत्त्व हुन्छ । यसले पार्टीलाई वैचारिक र सैद्धान्तिक हिसाबले स्फूर्तिलो बनाउँदै समयाअनुकुल गतिशील नेतृत्वको चयन गर्छ । आवधिक पार्टी महाधिवेशनको सुन्दर पक्ष र सबैभन्दा ठूलो कार्यभार पनि यही नै हो ।
जुन जुन पार्टीहरू यसरी नै महाधिवेशनको अर्थ बुझ्छन् र त्यसअनुरूपको महाधिवेशन आयोजना गर्छन्, ती राजनीतिक पार्टीहरू गतिशील, कामकाजी र जनताबीच पुगेका छन् । तर, जुन पार्टीहरू त्यसो नगरेर महाधिवेशनलाई एक कर्मकाण्डी जम्बोरी ठान्छन् र प्राविधिक रूपमा बनिबनाउ नेतृत्वको टिकोटालो मात्र गर्छन्, ढिलोचाँडो ती पार्टीहरूको पतन निश्चित छ ।
दशौँ महाधिवेशन सम्पन्न भइरहँदा एकीकृत समाजवादी पार्टी, पार्टीजस्तो देखिए पनि सारमा पार्टी भइसकेकै छैन । एमालेबाट टुक्रिएपछि निरन्तर रूपमा यो विभिन्न किसिमका गठबन्धनमा रहेर सत्तामा टाँसिरहेको छ । सत्ता केन्द्रित राजनीतिको चरम अभ्यास भइरहेको नेपालमा यसो हुनु अस्वाभाविक पनि हैन । यो पार्टीमा आएका धेरैजसो नेताहरू तत्कालीन एमालेको संस्थापन ओली पक्षले पद र अवसर नदिएर आएका छन् । अनेक किसिमका शब्द प्रयोग गरेर त्यसो हैन त भन्न सकिएला तर धरातलीय यथार्थ यही हो । ती सबै नेताहरूलाई टिकाउन पनि नेकपा एसको मूल नेतृत्व सत्ताको डाली घाँस देखाउनुपर्ने बाध्यतामा छ ।
अर्कोतिर, नेकपा एस शक्तिशाली छ भन्ने देखाउन पनि जरुरी छ, त्यो देखाउन सांगठनिक हिसाबले सक्षम नभएपछि सत्ता नै एक मात्र उपाय हो । यदि त्यसो गरिएन भने सत्ता नै सबैथोक भन्ने भाष्य निर्माण भैसकेको नेपाली समाजमा कोही पनि नेकपा एसको पछाडि लाग्दैन ।
अझ त्यसमाथि पनि नेपालका कम्युनिस्टहरूले यस बीचमा के पुष्टि गरिसके भने उनीहरू पहिला वर्गीय रूपमा लुट्न सक्ने हैसियतमा नभकाले मात्र कम्युनिष्ट भएका रहेछन् । जब उनीहरू सत्तामा पुगेका छन्, यो वा त्यो नाममा लुटेकै छन् । यसले पनि मौका बनाउनका लागि मात्र उनीहरू कम्युनिष्ट भएका रहेछन् भन्ने पुष्टि हुन्छ । त्यसैले विद्रोही एकीकृत समाजवादीको चरित्र, आचरण र व्यवहार फरक हुनुपर्छ ।
नेपालका कम्युनिष्टहरूका लागि कम्युनिष्ट नाम रामनामी जस्तै हो । खासगरी एमाले र माओवादीले त्यही रामनामी जपेर अझै पनि चुनावी वैतरणी तरिरहेका छन् । गरिबी, विभेद र न्याय उनीहरूका मूल कार्ड हुन् । यी कार्ड कम्युनिष्टहरूका युएसपी ( युनिक सेलिङ पोइन्ट) हुन् । त्यसैलाई आधार बनाएर उनीहरू चुनावमा जान्छन् र जनतालाई आफू मुक्तिदाता हुने भ्रम दिन्छन् । तर, परिणाम सबैका सामु छर्लङ्गै छ ।
२०५१ सालयताका तीन दशकमा नेपालका लगभग सबै ठूला कम्युनिष्ट पार्टीहरू सरकारमा पुगेका छन् । अहिले पनि वर्तमान प्रधानमन्त्री प्रचण्डसहित प्रधानमन्त्री भएका पाँचजना कम्युनिष्ट ज्युँदै छन् । तर, विडम्बना आज पनि मृत कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीका सामु यिनीहरूको व्यक्तित्व र योगदानको उचाइ लिलिपुट जस्तैछ ।
अझ टिठलाग्दो कुरा त अहिले पनि उनकै पालामा दिइएको ‘जेष्ठ नागरिक भत्ता’ र ‘आफ्नो गाउँ आफैँ बनाउँ’ नै जनतामा जाने मूल आधार रहँदै आएको छ । अहिले पनि उनीहरू त्यही आधारमा मत मागिरहेका भेटिन्छन् ।
नेकपा एस पनि त्यो दौडबाट बाहिर छैन । नाम नेपाल कम्युनिष्ट पार्टी नै छ, अरूभन्दा फरक देखाउन कोष्ठमा एकीकृत समाजवादी छ । कोष्ठमा एस राखे पनि यो माधव नेपाल र झलनाथ खनालको एमालेको अर्को रूप हो ।
प्राविधिक रूपमा एमाले राख्न नमिलेर मात्र एस राखिएको हो । यो कसरी पनि पुष्टि हुन्छ भने अहिले पनि नेकपा एसका नेताहरू एमाले हामीले बनाएको भन्छन् । अझ उनीहरू ओलीले एमाले अपहरण गरे पनि भनिरहेका हुन्छन् । यी दुवै सत्य हुन् । किनभने, माधव नेपाल र झलनाथ खनालको जीवन एमाले बनाउनमै बित्यो ।
नेकपा एसले आफ्नो पहिलो महाधिवेशन गरिरहेको यतिबेला यसले आफ्नो आवश्यकता र औचित्यकै बारेमा निर्मम समीक्षा गर्नुपर्ने हुन्छ । यस क्रममा सबैभन्दा पहिला त एमालेबाट फुट्नुको आवश्यकता र औचित्य पुष्टि गर्नुपर्ने हुन्छ । मात्र, ओलीको हेपाइ भनेर पार पाउन सकिने अवस्था छैन । यस बीचमा नेकपा एसका धेरै नेता कार्यकर्ता एमालेमा फर्केका छन् , केही देशभित्रै निस्क्रिय भएका छन् भने केही बिदेसिएका पनि छन् ।
जनमतको ग्राफ निरन्तर ओह्रालो लागिरहेको छ । प्रतिनिधिसभामा १० सांसद भए पनि ३ प्रतिशत मत ल्याउन नसक्दा संसदमा स्वतन्त्र हैसियतमा रहनु परेको छ । सधैँभरि गठबन्धनको वैशाखीमा सत्तामा झुत्तिखेल्दा संगठन निर्माणको काम पूरै लथालिङ्ग छ । सुरुवाती दिनमा बनेका संगठन पनि धराशायी भैसकेका छन् । केन्द्रमा जम्बो समिति रहे पनि त्यो ढोका खुट्टामा अडेको छ । त्यस्तो समिति भनेको कुपोषण लागेको बच्चा जस्तै हो ।
एकातिर पार्टी संगठनको अवस्था यस्तो छ भने अर्कोतिर बाँकी भएको संगठन पनि माधव नेपाल र झलनाथ खनाल गुटमा बाँडिएर अरू ध्वस्त भएको छ । दुवै नेता पार्टी अध्यक्ष हुन लालायित भएको समाचार बाहिर आएको छ । त्यति मात्र हैन, चुनाव नै हुने रे भन्ने सम्मको बजार चर्चा छ । अनिकाल लागेको घरमा सातु बाँड्ने जस्तो कुरा हो यो । एक किसिमले विनाशकाले विपरीत बुद्धिभन्दा पनि हुन्छ ।
हुन त यही बीचमा एसका महासचिव घनश्याम भुसाल पनि पार्टी अध्यक्षको लागि व्यायाम गरिरहेको समाचार बाहिरिएको छ । तर, माधव नेपालले बनाएको यो पार्टीमा उनले नचाहेसम्म कोही अध्यक्ष हुने सम्भावना छैन भन्दा पनि हुन्छ । आखिर अध्यक्ष हुन अङ्कगणित चाहिन्छ । त्यसका लागि अहिले नै माधव नेपालको विपक्षमा अङ्कगणित छ भन्न सकिन्न ।
नेकपा एसका धेरै महाधिवेशन प्रतिनिधिहरू नै ‘जे जस्तो भए पनि नेकपा एस भनेकै माधव नेपाल हो’ भनिरहेको सुनिन्छ । उनीहरूको यो आवाज सुन्दा पनि नेपाल नै अध्यक्ष बन्ने सम्भावना बढ्दो छ । भुसाल उम्मेदवार हुन त सक्छन् । तर त्यो उनका लागि अर्को हारको शृङ्खला बन्ने निश्चित प्रायः छ ।