एमालेबाट विद्रोह गरेर जन्मिएको नेकपा (एकीकृत समाजवादी) १०औँ राष्ट्रिय महाधिवेशनमा जुटेको छ । यस महाधिवेशनबाट पार्टीले विद्रोहको औचित्य पुष्टि गर्दै, सिंगो मुलुक र जनतालाई नयाँ जीवन दिने समाजवादी कार्यक्रमको स्पष्ट कार्यदिशा अगाडि ल्याउने अपेक्षा गरिएको छ ।
विद्रोह भन्नुको अर्थ एक प्रकारको क्रान्ति हो । त्यो क्रान्ति आफैँबाट सुरु गर्नुपर्छ । कम्युनिष्ट भन्नासाथ सादा जीवन उच्च विचारका नेता, कार्यकर्ता भनेर भुइँमान्छेले बुझ्छन्, चिन्छन् । त्यसैले कम्युनिष्ट नेता, कार्यकर्ताहरूको आचरणमा सुधार ल्याउनुपर्छ ।
आफू सुध्रिए मात्र देश सुधार्न सकिन्छ । आफैँ बिग्रिएपछि देश सुधार्छु भनेर कसले पत्याउँछ ? अहिले कम्युनिष्ट पार्टीप्रति युवापुस्ताको वितृष्णा जाग्नुको कारण पनि यही नै हो । जनताको अगाडि ठूला, ठूला विकासका कुरा गर्ने, सत्तामा पुगेपछि कम्मल ओढेर घ्यू खाने प्रवृत्तिले कम्युनिष्ट पार्टी बदनाम भएको छ ।
२०४८ सालदेखि अहिलेसम्म कति जना कम्युनिष्ट नेताहरू प्रधानमन्त्री भए, त्यसमध्ये मनमोहन अधिकारीबाहेक अन्य प्रधानमन्त्रीहरू कुनै न कुनै काण्डमा जोडिएकै छन् । स्वच्छ छवि, नैतिकवान, इमानदार कम्युनिष्ट नेता, कार्यकर्ताको खडेरी पर्न थालेको छ । जुनसुकै नेता, कार्यकर्ता सत्तामा पुगे पनि भ्रष्टाचारमा डुबेकै छन् । गाउँबाट चुनाव जितेर आएको सामान्य सांसद आज अकुत सम्पत्तिको मालिक बनेका छन् ।
यस्तो अवस्थामा विद्रोहको औचित्य पुष्टि गर्न सबैभन्दा पहिला पार्टीभित्र शुद्धीकरणको अभियानलाई तीव्रता दिनुपर्छ । अवसरवादीको झुण्डले देश परिवर्तन गर्न सक्दैनन् । उनीहरूको एउटै स्वार्थ हुन्छ कसरी कमाउने, चुनावमा करोडौँ खर्च गरेर आएका सांसदले मन्त्री पद चाहनुको पछाडि पनि सत्तामा पुगेर लुट्नका लागि नै हो । यस्ता प्रवृत्तिलाई समाजवादी पार्टीका नेता, कार्यकर्ताहरूले त्याग्नुपर्छ ।
हिजो ओलीले अवसर नदिएका कतिपय नेता, कार्यकर्ता लाभका लागि ‘विद्रोह’का नाममा समाजवादीमा घुसेका छन् । आज फेरि तिनै लोभीपापी समाजवादी छाडेर पुरानै घर फर्कने चर्चा सुनिन्छ । त्यसैले यस्ता भ्रष्ट, लोभीपापीलाई समाजवादको खोल ओढाएर राख्नुको कुनै अर्थ छैन । यस्ता गिरोहले पार्टी थप बदनाम हुन्छ ।
एमालेबाट विद्रोह गरेर जन्मिएको नेकपा एकीकृत समाजवादी १०औँ राष्ट्रिय महाधिवेशनमा जुटेको छ । यस महाधिवेशनबाट पार्टीले विद्रोहको औचित्य पुष्टि गर्दै, सिंगो मुलुक र जनतालाई नयाँ जीवन दिने समाजवादी कार्यक्रमको स्पष्ट कार्यदिशा अगाडि ल्याउने अपेक्षा गरिएको छ ।
एमालेबाट विद्रोह गरेर आएको पार्टीले विद्रोहको औचित्य पुष्टि गर्न आफ्नो पार्टीमा स्वच्छ छवि, उँचो नैतिकवान नेता, कार्यकर्ता छन् भनेर देखाउनु पर्छ र त्यस्ता नेता, कार्यकर्तालाई जनताले पत्याउनु पनि पर्छ । समाजमा भ्रष्ट आचरण भएको व्यक्तिलाई पार्टीमा स्थान दिइनु हुँदैन । स्वच्छ छवि, इमानदार कार्यकर्ता पार्टीको पुँजी हो । यसखाले नेता, कार्यकर्ताले मात्रै पार्टीलाई अगाडि बढाउन सक्छ ।
आफ्नो जिम्मेवारी पूरा नगर्ने, दिनरात नेताको वरपर घुमेर आफ्नो स्वार्थपूर्ति गर्ने झुण्डबाट पार्टी निर्माण हुन सक्दैन भन्ने कुरा २०७९ को निर्वाचन परिणामबाट पनि पुष्टि भयो । विद्रोह गर्दा ठूला पद खोज्ने, पद पाएपछि सिन्का नभाच्ने कार्यकर्ताहरूकै कारण समाजवादी पार्टी राष्ट्रिय पार्टीसमेत बन्न सकेन ।
वडा सदस्य जित्न नसक्नेहरूसमेत यस पार्टीको केन्द्रीय सदस्य बनेका छन् । काठमाडौँमा नेताको सयौँ फन्को मार्ने, गाउँमा जनताको मुखै नहेर्ने प्रवृत्तिका झुण्ड पनि एस पार्टीमा नदेखिएको होइन ।
पार्टीमा को असल, को खराब भन्ने कुराको मूल्यांकन नभएसम्म एमालेमा जस्तै भ्रष्ट, फटाहा र अवसरवादीले पटक–पटक अवसर पाउने, इमानदार कार्यकर्ताहरूको समाजवादीमा मूल्यांकन नहुने परिपाटीले निराशा मात्र बढाउँछ, त्यसले विद्रोहको औचित्य पुष्टि गर्न सक्दैन ।
उदाहरणका लागि पार्टी विभाजन रोक्न पठाएका १० भाइ उतै लागे । जसका लागि माधवकुमार नेपालले एमालेभित्र वर्षौँ लडेर उनीहरूलाई स्थापित गरे । आखिर माधव नेपालका पछाडि कस्ता मान्छे रहेछन् भन्ने कुरा प्रस्ट भयो ।
अब समाजवादीका कुनै पनि नेताले अवसरवादीको झुण्ड बोकेर हिँड्नु हुन्न । कार्यकर्ताको कामको मूल्यांकनको आधारमा जिम्मेवारी बाँडफाँट गर्नुपर्छ । एकीकृत समाजवादीलाई स्वच्छ छवि, नैतिक आचरण र इमानदारहरूको पार्टी बनाउन सकेमात्र त्यसले कम्युनिष्ट आन्दोलनको रक्षा र देशको विकास गर्न सक्छ । आज महाधिवेशन प्रतिनिधि बनेर आएका पुराना कार्यकर्ताहरूको अनुहारमा एक प्रकारको आशा र अर्को प्रकारको निराशा झल्किन्छ ।
त्यो निराशालाई चिर्न सक्नुपर्छ । पदका लागि लुछाचुँडी गर्ने प्रवृत्तिले पार्टी निर्माण हुन सक्दैन । लोकतन्त्रमा सर्वसम्मत उत्कृष्ट अभ्यास हो । त्यो हुन सकेन भने स्वस्थ प्रतिस्पर्धाबाट राम्रा कार्यकर्ताहरू चुनिएर आउनुपर्छ । विद्रोह गरेर आएका धेरै कार्यकर्ताहरू यसबीच निकम्मा साबित भएकोले दसौँ महाधिवेशनले जुझारु, नैतिकवान, इमानदार, क्रान्तिकारी योद्धाहरूलाई पार्टीको नेतृत्वमा ल्याउन सक्नुपर्छ । सबै प्रतिनिधिहरूमा शुभकामना ।