काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । नेकपा एमालेसँग सत्ता सहकार्यको समझदारी अनुमोदन गर्न अहिले बिहान नौ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने बैठकमा बस्न लागेको हो ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एमालेसँग कांग्रेसले गरेको गठबन्धनका लागि भएका समझदारीलाई अनुमोदन गर्न कार्य सम्पादन समितिको बैठक बोलाइएको बताए । उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन दिइएको छ ।
कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने, संविधान संशोधन गर्ने र नयाँ सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने लगायतका विषयमा समझदारी भएको छ ।
कांग्रेस–एमालेले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने बरु संसदमा विश्वासको मत सामना गर्ने बताएका छन् ।