काठमाडौं । ६० केजी सुन तस्करी प्रकरणमा नेपाली सेनाका पूर्वरथी नेपालभूषण चन्दसहित ६० जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार पूर्वरथी चन्द तथा दुई वालेट कम्पनी पे–वेल र सजिलो–पेका सञ्चालक/कर्मचारीसहित ६० जनाविरुद्ध झन्डै सात खर्ब रुपैयाँबराबरको बिगो दाबी गरेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
उनीहरुविरुद्ध अवैध सुन भन्सार चोरीपैठारी, संगठित अपराध, नागरिकता किर्ते, राहदानी ऐन, नेपाल राष्ट्र बैंक ऐन, अपराधपीडित संरक्षण ऐन, भुक्तानी तथा फस्र्योट ऐन र हातहतियार खरखजना गरी आठ कसुर लगाएर मुद्दा दर्ता भएको हो । उनीहरूविरुद्ध बिगो मात्रै ६ खर्ब ९१ अर्ब ५६ करोड माग दाबी गरिएको छ ।
जसमा पूर्वरथी चन्दको समूहविरुद्ध मात्रै ६१ अर्ब ५० करोड २७ लाख नौ हजार दुई सय ३३ रुपैयाँ बिगो दाबी गरिएको छ । उक्त बिगो दाबी चन्दसहित पे–वेल नेपालका सञ्चालक र कर्मचारी भीमप्रसाद तिमल्सिना, पाल्साङ लामा, खेलानन्दप्रसाद सिंह, सत्येन्द्र श्रेष्ठ, प्रज्ज्वल आचार्य, सुरजशमशेर राणा र मिलन भनिने मीनबहादुर दुलालविरुद्धको हो ।
उनीहरूले तस्करी भई आएको सुनको मूल्य अवैध तवरले भुक्तानी गरेको सीआईबीले जनाएको छ । त्यसो हुँदा उनीहरूविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ (१) बमोजिमको कसुरमा सोही ऐनको दफा ९६ (१) बमोजिम सजायको माग दाबी गरिएको हो । कसुर प्रमाणित भए उनीहरूविरुद्ध सात वर्षसम्मको कैद सजाय हुन सक्छ ।
‘ऐनविपरीत निक्षेप लिएमा वा कर्जा दिएमा वा डिबेन्चर वा अन्य वित्तीय उपकरण जारी गरेमा वा बैंकले निर्धारण गरेको नीतिविपरीत ब्याज लिनु वा दिनु गरेमा वा विदेशी विनिमय कारोबार गरेमा वा त्यस्ता कार्यमा संलग्न भएमा वा प्रचलित कानुनबमोजिम बैंकबाट इजाजतपत्र लिनुपर्नेमा सो नलिई त्यस्तो कारोबार गरेमा कसुर गर्ने व्यक्तिलाई उक्त कसुरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा सात वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ,’ नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ मा भनिएको छ ।