स्थापनाको दुई वर्षमै रास्वपाभित्र भाँडभैलो सुरु भएको छ । पूर्वप्रतिबद्धताविपरीत पार्टी सभापति रवि लामिछाने सत्तामा टाँसिएपछि रास्वपाका समर्थन, शुभेच्छुकमात्रै होइन नेतासमेत बिच्किन थालेका छन् । गत निर्वाचनमा पुराना दललाई ‘सच्चिने कि सक्किने’ भन्ने स्थितिमा पु¥याएको रास्वपा आफैँ पुरानो दलको दलदलमा फसेको छ ।
एमाले, कांग्रेस विकृति विसंगतिमा फसेर देश डुबाएको भन्दै अब नेतृत्व नयाँ पुस्तामा आउनुपर्छ भनेर नयाँ पार्टी रास्वपा बनेको थियो । २०७९ को चुनावभन्दा पाँच महिना स्थापना भएको रास्वपाले २० सिट जितेको थियो । उपनिर्वाचनमा तनहुँबाट स्वर्णिम वाग्ले निर्वाचित हुँदा रास्वपाका हाल २१ सांसद छन् ।
सार्वजनिक भाषणमा चर्का कुरा गरेर युवालाई आफ्नो पार्टीमा आकर्षित गरे पनि सत्तामा पुगेर लामिछानेले काम गर्न सकेनन् । उल्टै सहकारी काण्डमा फसे । लाखौँ सहकारी पीडित छन् । उनीहरूका नजरमा लामिछाने दोषी देखिएका छन् । पीडितलाई संबोधन गरेनन् भने भोलि पीडितले उनीविरुद्ध कडा माग राख्ने छन् ।
जनतालाई परिणाम चाहिएको छ । त्यो परिणाम पनि उनले दिन सकेका छैनन् । बरु, जनताले गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुँदा धेरै काम भएको थियो भन्न थालेका छन् । त्यसै कारण इलाम उपनिर्वाचनमा रास्वपाको जमानत जफत हुने स्थिति बन्यो । जबकि, रास्वपाका सबै मन्त्री इलाम केन्द्रित भएका थिए । उनीहरूले रास्वपालाई निर्वाचित हुनबाट कसैले रोक्न नसक्ने दाबी गरेका थिए ।
किन जमानत जफत हुने गरी पार्टी पराजित भयो भनेर लामिछानेले आफ्ना विश्वासपात्र मानिने महामन्त्री एवं पार्टी प्रवक्ता डा. मुकुल ढकाललाई यथार्थ बुझेर प्रतिवेदन तयार पार्न फिल्डमा खटाए ।
इलाममा मात्रै होइन, देशका अन्य क्षेत्रमा पनि ढकालले रास्वपाको गिर्दो अवस्था पाए । ढकालले देशका विभिन्न स्थानमा पुगेर गरेको अन्तर्क्रियाको आधारमा तयार पारेको प्रतिवेदनले औँल्याएको छ–सच्चिने कि सक्किने ? उक्त प्रतिवेदनले असन्तुष्टि विस्फोटको संकेत गरेको छ । घण्टीमा कालो देखिएको छ ।
ढकालले भनेका छन्–‘आशाका साथ जनताले विश्वास गरेका थिए । तर, आशा नदेखिएको हो कि जस्तो देखिन्छ । बादल मडारिएको छ । घण्टी केही कालो देखिएको छ । तर, घण्टी निलो नै छ भनेर देखाउनुपर्छ ।’
सामान्य बिरामी सिटामोलले निको हुन्छ । तर, रास्वपालाई सामान्य सिटामोलले नपुग्ने अवस्था आएको छ । डा. ढकालका अनुसार रास्वपालाई मेजर सर्जरी नै चाहिएको छ । राजनीतिका विकृत र विकारले रास्वपालाई छुँदै गएको आभास तथा अनुभूति भएको छ ।
यसबाट झसंग भएर छुटकारा पाउनुपर्छ । रास्वपाप्रतिको आशा मरिसकेको छैन । पार्टी बिरामी छ, अस्पतालमा राखेर उपचार गर्नुपर्छ । तर, लाजले स्विकार्ने अवस्था नबन्न पनि सक्छ । अस्पताल लगेर उपचार नगरे गाह्रो हुन्छ ।
टेलिभिजनमा कार्यक्रम प्रस्तोताबाट राजनीतिमा लागेका रवि लामिछानेले आफ्नै ब्रान्डमा रास्वपा स्थापित गरेका थिए । पहिलो प्रयासमै सांसद बनेका उनी एमाले, माओवादी गठबन्धनबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका थिए । तर, नागरिकता प्रकरणमा सर्वोच्च अदालतले उनलाई दोषी ठहर गरे पछि सांसद पद खारेज भएको थियो ।
त्यसपछि उनको मन्त्री पद पनि गुम्यो । उनको पार्टी सरकारबाट बाहिरियो र सत्ता गठबन्धन पनि बदलियो । माओवादी, कांग्रेस गठबन्धन सरकालाई पनि रास्वपाले समर्थन कायमै राख्यो । पुनः सत्ता समीकरण फेरिएसँगै रवि उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा दोहोरिएका छन् । तर, उनको पार्टी रास्वपामा मिसन ८४ मा सक्किने कि सच्चिने भन्ने ठाउँमा पुगेको छ ।
महामन्त्री ढकालले नसच्चिए अर्को चुनावमा १÷२ सिट पनि जित्न नसकिने औँल्याएका छन् । ‘पुराना पार्टीको प्रवृत्ति हामीमा पनि आएको छ । केही साथी र मान्छे काठमाडौंको कोठामा बसेर कुरा गर्छन्, तर, म देश डुलेर आएको छु । यसैले निर्मम समीक्षा गर्न पार्टीले आदेश दिएको थियो । यो आदेशबमोजिम निर्मम समीक्षा गरेको छु’ ढकालले भनेका छन्, ‘मैले भनेको होइन, आजका जनताले भनेका हुन् । तीन हजारभन्दा बढी जनतासँग अन्तरक्रिया गरेर आएको छु । मेरो प्रतिवेदनअनुसार अहिलेकै अवस्थामा चुनावमा गए राष्ट्रिय पार्टी मात्रै बन्न सक्छ, केही सिट मात्रै जित्न सक्छ । यही गति भए अझै तल पुगिन्छ ।’
ढकालले उक्त प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाइसकेका छन् । ढकालले प्रतिवेदन जस्ताकोतस्तै सार्वजनिक गर्न पनि माग गरेका छन् । उक्त प्रतिवेदन सार्वजनिक नगरिए रास्वपालाई भोट दिएका ११ लाख ३ हजार मतदाता र आफूमाथि अन्याय हुने ढकालले औँल्याएका छन् ।
रास्वपामा सभापति लामिछानेसँग उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री ढकालसँगै मन्त्रीहरू विराजभक्त श्रेष्ठ र सुमना श्रेष्ठ तथा सांसदहरू सन्तोष परियार, तोसिमा कार्की, सोविता गौतमलगायत असन्तुष्ट रहेका छन् । लामिछानेले निकटलाई च्यापेर आफूहरूलाई अवसर नदिएको गुनासो सांसदहरूको छ ।
लामिछानेसँग उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्ष दीपकराज बोहोरासहितका नेता निकट छन् । सभापति लामिछाने एकपछि अर्को विवादमा फस्दै गएको र पार्टी कमजोर हुने स्थिति आएको बताइएको छ ।
इलाम उपनिर्वाचनले रास्वपाको पछिल्लो अवस्था चित्रण गरेको छ । कमजोरी सच्याउन लाग्छन् कि ढाकछोप गर्न भन्ने हेर्न बाँकी नै छ । सच्चिएर अगाडि बढे भने रास्वपाका लागि अझै ठाउँ रहन सक्छ । तर, रवि सच्चिने अवस्थामा देखिँदैनन् ।
सरकारबाट हट्नुपर्ला भन्ने स्वार्थका कारण यथार्थ चित्रण गर्ने महामन्त्री ढकाललाई लामिछानेले कारबाहीको डण्डा चलाउन पनि सक्छन् । तर, पार्टीलाई भने उनले बचाउन सक्दैनन् ।