काठमाडौं । जनमत पार्टीले मधेस प्रदेश सरकारमा कांग्रेस–एमाले गठबन्धनले सहयोग गरे केन्द्रीय गठबन्धनमा आफू सहभागी हुने बताएको छ ।
पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले जनमत पार्टीको प्राथमिकता मधेस सरकार भएकाले सोहीअनुरूप केन्द्रमा सहमति हुने बताए ।
‘हाम्रो प्राथमिकता मधेस प्रदेश हो । हामीलाई मधेस सरकारमा सहयोग गर्छ भने हामी केन्द्रमा कांग्रेस–एमाले गठबन्धनलाई सहयोग गर्छौं,’ उनले भने ।
लामो समयसम्म जसपासहितका पुराना दलले मधेसलाई बन्धक बनाएको बताउँदै उनले जनमत सरकारले लोकप्रिय र जनसेवाको काम गरेर देखाउने बताए । उनले भने, ‘हामी स्थायीत्वको पक्षधर हौँ । हामीलाई सिंगो देशको विकास गर्नुछ । अहिले मधेसमा हाम्रो नेतृत्वमा सरकार छ ।’
मधेसमा जनमत पार्टीबाट सतिशकुमार सिंह मुख्यमन्त्री छन् । उनले असार २१ गते विश्वासको मत लिने तय भएको छ ।