काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । राजीनामा दिने तयारी गरेका रास्वपाका मन्त्रीहरू प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटारमा पुगेको हुन् ।
प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि राजीनामा दिने वा नदिने टुंगो लाग्ने रास्वपाका एक नेताले बताए । उनका अनुसार रास्वपाका मन्त्रीहरु भने राजीनामा पत्र बोकेर बालुवाटार पुगेका छन् ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने आजै राजीनामा दिने बताएका छन् । त्यसअघि मन्त्रीहरूले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरुले पनि सरकार छाड्ने तयारी गरेका हुन् ।
सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।