शाङहाई पुग्ने बित्तिकैको फुर्सदिलो दैनिकी अब समाप्त भयो । पढाईको चापसँगै व्यस्त जीवन सुरु भइसकेको थियो । नयाँ परिस्थितिमा नयाँ ज्ञान सिक्दै आफ्नो र परिवारको हितको निम्ति व्यस्त हुनु मीठो पनि लाग्दो रहेछ । समय छिटो छिटो बित्न थालेको अनुभव भयो ।
उमेर ढल्किसकेपछि, अझ आमा बनिसकेपछि नयाँ स्कूलमा पढ्नुको अनुभवै बेग्लै थियो । पढ्ने उमेरमा पढ्दै नपढी बिताएको एक दशकभन्दा बढी समय त फिर्ता लिन सकिने कुरा भएन । अब पाएको समयलाई चाहिँ जसरी भए पनि फलदायी बनाउनुपर्छ भनेर बेस्सरी घुँडा धस्न थालें ।
त्यो बेला अर्थात् असीको दशकसम्म जाडो या गर्मीको छुट्टीमा विदेशी विद्यार्थीहरूलाई चीनका विभिन्न प्रदेश र शहरहरूमा घुमाउन लान्थे । त्यो वर्ष स्कुलहरूमा गर्मीको छुट्टी भयो । हामीलाई पनि घुमाउन लाने भयो ।
तर, म भने घुम्न नगइकन बच्चालाई पनि साथै लिएर पुरानै ठाउँ चिनशानमा गएर बसेँ । छोरी र बच्चालाई छाडी एक्लै स्कूलका साथीहरुसँग घुम्न जाने मन थिएन । छोरीलाई समेत लिएर बरु गाउँ गएर बस्दा पनि आनन्दै लाग्यो । एकचोटी फेरि परिवारको पुनर्मिलन भयो ।
छुट्टी सकिएपछि फेरि नयाँ परिस्थितिमा तालमेल मिलाउनु थियो । मान्छेको जातलाई जहिले पनि केही न केही असन्तुष्टि भइरहँदो रहेछ । जति सुविधा पाए पनि पुग्दैन ।
छात्रवृत्तिसमेत पाएर पढ्न पाएँ । त्यो पनि राम्रै मानिएको युनिभर्सिटीमा । बच्चालाई पनि राम्रै मानिएको होस्टेलमा राख्न पाएँ । र पनि आमा, दिदीहरू र साथीहरूलाई सम्झेर मनमा चिन्ता भइरहने ।
सामाजिक रूपान्तरणका लागि आफू पहिले लागेको समय र सपना सम्झेर पनि एक किसिमको खालिपन अनुभूत भइरहने । त्यति परबाट चिन्ता गरेर देशमा केही परिवर्तन हुने पक्कै थिएन । तर, पीर भने लाग्थ्यो ।
बच्चालाई चीनमा लान सक्नु आफैमा एउटा पारिवारिक सफलता पनि थियो । भिसा दिने मान्छेले समेत ‘तिमी त भाग्यमानी रहिछौँ, बच्चाको निम्ति यसरी भिसा पहिले कसैलाई मिलेको थिएन’ भनेका थिए ।
हुन पनि कुटनैतिक पदाधिकारी बाहेक, अरुका बच्चालाई भिसा मिलेको रहेनछ । हामीले यो सुविधा पाउनुमा सरोजको होस्टेलका तिनै फाङ् थरका पदाधिकारीको सहयोगले काम गरेको हो ।
जब हामीले बच्चालाई चीन भित्र्यायौँ अरु विद्यार्थीको निम्ति पनि बाटो खुल्यो । सरोजकै पुराना साथीहरू पनि खुसी भए, आफ्ना बच्चा पनि ल्याउन पाइने भयो भनेर । अहिलेको लोकतान्त्रिक गणतन्त्र कंगोलाई त्यो बेला जायर भन्थे । सरोजका साथी जायरका डाक्टर नातितिले शायद आफ्नै देशको अवस्थाका कारण परिवार ल्याउन पाएनन् ।
सुडानी साथी बखतिले भने केही महिनापछि नै सानो छोरासमेत श्रीमतीलाई झिकाए । अहिले दक्षिण सुडान बनेर अझै युद्धग्रस्त रहेको ठाउँबाट आएका बखतिको परिवार सरोजको होस्टेलमा पुगेपछि त्यतिबेला रमाइलो थपिएको थियो ।
मेरी छोरी भन्दा एकवर्षले सानो बप्तिस एकदमै रमाईलो बच्चा थियो । मेरो निम्ति त सित्तै पाएको छोराजस्तै भयो र छोरीको निम्ति साथी । सँगसँगै बस्थे, खेल्थे छोरीले मलाई मामु भनेर बोलाउने भएर उसले पनि मलाई ‘मामु’ नै भनेर बोलाउँथ्यो ।
चिनियाँ भाषा भन्दा नेपाली शब्दहरू छिटो टिप्यो उसले । ‘मामु मलाई पानी देउ…’ भन्थ्यो । मेरोभन्दा झण्डै दुईगुना ठूलो शरीर भएकी उसकी आमा पनि मिलनसार थिइन् । उनलाई भाषाको समस्या थियो । हामी मनको भाषाले बोल्थ्यौँ ।
पहिलो छुट्टी सकेर होस्टेल फर्कँदा मेरी पहिलेकी रुममेट ‘ऊ’ले केही सूचना नै नदिई कोठा छोडिसकेकी रहिछन् । आधा कोठा खाली थियो । तुरुन्तै अर्की एकजना क्यानेडिएन साथी एन् आफ्नो कोठा छोडेर मसँग बस्न आईन् । एन् सजिली थिइन् ।
हामी पहिल्यै साथी बनिसकेको र उनले नै रोजेर मकहाँ सरेकी भएकोले मात्र हैन, स्वभावैले उनी खुला थिइन् । दुःख–सुख, मनका कुरा साट्थिन् । विकसित देश क्यानाडामा जन्मे–हुर्केकी भए पनि सानैदेखि धेरै दुःखहरू झेलेकी रहिछन् । मसित भन्थिन्– ‘सुलो तिमी कति असल, नेपालका सबै मान्छे तिमी जस्तै हुन्छन् ?’
उनीबाट धेरै नयाँ कुरा थाहा पाएँ । उनका पनि मानवीय कमजोरी नभएका हैनन्, तर उनको जीवनलाई एकदम नजिकबाट हेर्न, बुझ्न पाउँदा ती असल केटी आफैँ नै एउटा पुस्तक झैं लाग्न थाल्यो ।
उनीसँग कुरा गर्दा किताबका पाना पल्टाए जस्तो लाग्थ्यो र पश्चिमा समाजका बारे केही नयाँ कुरा पढ्न पाए झैं हुन्थ्यो । फुर्सद पाउना साथ ‘सुनाउन तिम्रो कथा’ भन्न थाल्थेँ । उनी केही नलुकाई सुनाउँथिन् । कुनै बेला उनका आँखामा आँसु टल्पलाएको हुन्थ्यो ।
उमेरको हिसाबले सबैभन्दा उर्जाशील युवाकाल बितिसके पनि, त्यो बेला मैले एउटा राम्रै ठाउँमा विभिन्न देशका मान्छेहरूसँग सरसंगत गर्न पाएँ । मेरो संसार पहिलेभन्दा ठूलो भएजस्तो लाग्दैथियो ।
होस्टलमा साथीहरूको संख्या बढ्दै जाँदा अझै नलेखिएका पुस्तकहरू पढ्न पाएजस्तो पनि लाग्थ्यो । आफ्नै देशबाट पनि पुराना साथीहरूको चिठी पत्रहरू आइरहन्थ्यो । पाठ्यपुस्तक बाहेकका अरु पुस्तकहरू पनि पढ्ने र बेलाबेला टिभी रुममा जाने र नयाँ फिल्म र समाचार हेर्ने गर्दा त समय जति भएपनि नपुग्ने जस्तो पो हुन थाल्यो ।
मेरी अर्की मिल्ने साथी थिइन् ‘शोहेला’ । उनी इरानकी थिइन् । उनको श्रीमान शाङहाईकै अर्को युनिभर्सिटीमा इन्जिनियरिङ पढ्दै गरेकोले पनि हाम्रो कुरा मिल्थ्यो । वास्तवमा उनी मेरै कोठामा बस्न खोजेकी थिइन् । तर, अर्की साथी आएर बसिहालिन् । पछि उनले आफ्नो श्रीमान पनि बरोबर कोठामा आइरहने भएकोले एउटा सिंगल कोठा नै मिलाइन् ।
उनीहरूलाई चीनको छात्रवृत्तिबाहेक आफ्नै देशबाट पनि छुट्टै पैसा आउने रहेछ । कहिलेकहिले म छोरीलाई मेरो होस्टेल लान्थे । उनले पनि आफ्नै छोरीजस्तै गरी धेरै माया गर्थिन् ।
कोठाभित्र हुँदा उनी बेस्सरी सिङ्गारिएर बस्थिन् । बाहिर जानेबेला भने शरीर पुरै ढाक्ने कपडा लगाउनु पथ्र्यो । टाउकोमा स्कार्फ त हुन्थ्यो नै जस्तो गर्मीमा पनि । उनीहरूको बाध्यता थियो यो ।
हाम्रो कुराकानीमा अरु धेरै कुरा मिले पनि महिला स्वतन्त्रता र समानताको बारेमा भने पटक्कै कुरा मिल्दैनथ्यो । एकपल्ट उनको श्रीमानले हामीलाई इरानको एउटा फिल्म देखाए । कथावस्तु धैरै राम्रो थियो ।
तर, सिङ्गै फिल्ममा एउटा पनि महिला पात्र देखिएन । उनीसँग कुरा गरिरहँदा अर्को एउटा उपन्यास पढिरहे झैं लाग्थ्यो । पछि छुट्टिने बेला कुनैदिन उनी मलाई भेट्न नेपाल आउने र म पनि उनलाई भेट्न इरान जाने बाचा गरेका थियौँ । तर, अहिलेसम्म सामान्य सम्पर्क पनि हुनसकेको छैन ।