Logo
Logo

क्वारेन्टाइनमै अविवाहित युवतीले जन्माइन् शिशु


- दृष्टि न्युज/संवाददाता

0
Shares

ओखलढुंगा, १२ बैशाख । उदयपुरबाट आएर ओखलढुंगाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशुलाई जन्म दिएकी छन् । मोलुङ गाउँपालिका–१ की १६ वर्षीया अविवाहित युवतीले क्वारेन्टाइनमा बसेकै बेला बच्चा जन्माएकी हुन् ।
मंगलबार साँझ क्वारेन्टाइनमा ल्याइएकी युवतीको स्वास्थ्यमा बुधबार समस्या देखिएको थियो । केही समयपछि मृत शिशु जन्मिएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले जानकारी दिए । शिशुको मृत्यु भइसकेको र आमाको स्वास्थ्यमा थप समस्या देखिएपछि ओखलढुंगा सामुदायिक अस्पताल पठाइएको उनको भनाइ छ ।
‘अघिल्लो दिन उदयपुरबाट आएको हुनाले क्वारेन्टाइनमा राख्ने भनेर ल्याइयो । भोलिपल्ट बच्चा पो जन्मियो । समय नपुगी जन्मिएर होला शिशु खासै स्वस्थजस्तो थिएन’, उनले भने, ‘मृत शिशु प्रहरीको जिम्मा लगायौैँ र आमालाई यहाँको स्वास्थ्य संस्थामार्फत अस्पतालमा सिफारिस गरिएको छ ।’
क्वारेन्टाइनमा बच्चा जन्माउने युवतीलाई अहिले ओखलढुंगा सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको छ । रक्तस्रावको केही समस्या भए पनि युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
कोरोनाको डरले शिशुको शव परीक्षण भने गरिएको छैन । आमा केही दिनअघि मात्रै उदयपुरबाट आएकाले कोरोनाको संक्रमण हुनसक्ने डरले परीक्षण नगरेको बुझिएको छ । शिशुको शव परीक्षण गरे÷नगरेको विषयमा इलाका प्रहरी कार्यालय वरुणेश्वरका प्रहरी निरीक्षक श्रीप्रसाद राईले कुनै प्रतिक्रिया दिएनन् । ‘अविवाहित भनिएकी युवतीले मृत शिशु जन्माएकी हुन् । अहिलेलाई यत्ति भनौँ । शिशुको शव परीक्षणलगायतका कुरा पछि गरौँला नत्र माथिल्लो निकायमा सोध्नुस्’ प्रहरी निरीक्षक राईले भने । रासस

प्रतिक्रिया दिनुहोस्