Logo
Logo

प्रभु साहको निर्देशनमा आइटी आर्मीको आन्दोलन स्थगित


630
Shares

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आइटी आर्मीद्वारा जारी आन्दोलन स्थगित गर्न निर्देशन दिएका छन् । साहको निर्देशन पश्चात् आइटी आर्मीले विगत १९ दिनदेखि काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभाग घेराउ तथा धर्ना कार्यक्रम आजैदेखि स्थगित गरेको छ । 

वैदेशिक रोजगारका पीडितलाई न्याय दिनुपर्ने लगायतका माग गर्दै आइटी आर्मीले विगत १९ दिनदेखि विभाग घेर्दै आएको थियो । यस बिचमा आइटी आर्मीले विभाग अगाडी नै श्रममन्त्री डोलप्रसाद ९डिपि० अर्यालको पुतला दहन समेत गरेको थियो । 

पछिल्लो समय नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर नयाँ सरकार बनाउने र संविधान संशोधन गर्नेलगायतका विषयमा सहमति गरिसकेपछि विकसित राजनीतिक परिस्थितिको मूल्याङ्कन गर्दै आजपा अध्यक्ष साहले आइटी आर्मीलाई आन्दोलन तत्कालका लागि स्थगन गर्न निर्देशन दिएका हुन् ।

आइटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले पार्टी अध्यक्षबाट तत्काल आन्दोलन स्थगन गर्न निर्देशन प्राप्त भएको जानकारी दिए । उनकाअनुसार अध्यक्ष साहले देशको राजनीतिक परिस्थिति नै बदलिएको र लोकतन्त्र झन् गम्भीर संकटमा परेकोले पार्टीको सिङ्गो पङ्क्ति लोकतन्त्र बचाउनको लागि र तेस्रो जनआन्दोलनको लागि तयार हुनुपर्ने भएकोले अहिलेको आन्दोलन स्थगन गरिएको हो ।

आजपा अध्यक्ष साहले देशमा दलीय सिन्डिकेट रहेकोमा अब देशकै दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार चलाउनु र संविधान संशोधनको विषय अघि ल्याउनुले लोकतन्त्रमाथि कालो बादल मडारिएको निष्कर्ष निकालेका छन् । उनले देशमा लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको उल्लेख गर्दै अहिले त देशमा अधिनायकवादी चरित्र हाबी हुँदै दुई दलीय सिन्डिकेट लाद्न खोजिएकोमा आपत्ति समेत जनाएका छन् । 

‘पछिल्लो समय देशको बदलिँदो राजनीतिक परिस्थिति, वर्षाजन्य मौसमको बढ्दो प्रतिकुलता तथा नेपाल जस्तो कृषि प्रधान देशमा ‘मानो रोपेर मुरी फलाउने’ असारे खेतीको महत्त्वपूर्ण समय समेतलाई मध्यनजर गर्दै तत्कालका लागि विभाग घेराउ तथा धर्ना कार्यक्रमलाई स्थगन गर्ने निर्णय गरेका छौँ । हाम्रो मागहरू समयमै सम्बोधन नभए थप सशक्त, प्रभावकारी एवं निर्णायक संघर्ष गर्न हामी बाध्य हुने छौँ’ आइटी आर्मीका अध्यक्ष साहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

विदेश जाने कामदारसँग अवैध ढङ्गले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग म्यानपावर र एजेन्टलाई कारबाही गर्नुपर्ने, बेरोजगार युवाहरूलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरूको उद्धार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारतः लागू गर्नुपर्ने, निजी म्यानपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आइटी आर्मीले वैदेशिक रोजगार विभाग घेराउ तथा धर्ना दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्