काठमाडौं, १२ बैशाख ।
सरकारले सोमबार ल्याएका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । नेकपाभित्रै चर्काे विवाद भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पछि हटेका हुन् ।
अध्यादेशको स्वार्थ पूरा नहुने देखेपछि ओली संकटमा परेका थिए । पार्टीभित्रै चर्काे विवाद भएपछि उनी अध्यादेश फिर्ता लिनुपर्ने निर्णयमा
पुगेका हुन् । समाजवादी दल फुटाउने योजनासहित राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याइएको थियो । तर, ओलीको योजना असफल पारी समाजवादी र राजपाले बुधबार राती एकता गरेका थिए ।
संवैधानिक अंगमा जथाभावी नियुक्ति गर्न सक्ने प्रावधान राखेर संवैधानिक परिषद् ऐन संशोधन गरिएको थियो । यसले लोकतन्त्रलाई नै कमजोर बनाउने भन्दै चर्काे आलोचना भइरहेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश रद्द गर्न सक्ने संवैधानिक व्यवस्था छ ।