Logo
Logo

सहकारी प्रकरणमा गृहसचिव र आइजिपीसँग सोधपुछ गरिँदै


1.6k
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणका सम्बन्धमा अनुसन्धान गर्न गठित संसदीय छानविन विशेष समितिको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा समितिले गृह मन्त्रालयका सचिव र नेपाल प्रहरीका आइजिपी सोधपुछ गर्ने छ ।

सोधपुछका लागि समितिले गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई बोलाएको हो । सिआइबीले हेरिरहेको सहकारीको बारेमा, देशभर प्रहरीले सहकारीसम्बन्धी ह्यान्डिल गरिरहेको मुद्दाहरूको सन्दर्भमा समग्रतामा छलफल गर्न गृहसचिव र प्रहरी महानिरीक्षकसहितलाई बोलाएको समिति सभापति सूर्य थापाले बताए ।

यसैबीच, समितिले आफ्नो क्षेत्राधिकारभित्र परेका २० वटा समस्याग्रस्त र ९ वटा बचत अपचलनमा विवादित सहकारीका सञ्चालकलाई अनुसन्धानका लागि सम्पर्कमा आउन अपिल गरेको छ । थापाका अनुसार समितिमा उपलब्ध हुनेहरूसँग केही दिनमै सोधपुछ गरिनेछ ।

जेलमा बसेकाहरूसँग समितिले कानुनबमोजिम सम्पर्क गर्ने उनको भनाइ छ । समितिले बिहीबार महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक कमलप्रसाद भट्टराई र सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरेसहितका अधिकारीसँग सहकारी समस्याबारे छलफल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्