Logo
Logo

ब्लू बस र रोजगारीको कुरा कहाँ पुग्यो ? रविको कार्यशैलीमाथि १० प्रश्न

पार्टीमा पूर्वग्यालेक्सी टिभीका सहकर्मी थुपारेको मुकुल ढकालको आरोप


1.6k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । उनले पार्टी सभापतिमाथि नै पहिलो प्रश्न उठ्यो भन्दै रवि लामिछानेमाथि विभिन्न १० प्रश्न उठाएका छन् ।

३८ जिल्ला घुमेर तयार पारेको समीक्षा प्रतिवेदनमा ढकालले लामिछानेमाथि प्रश्न उठाउँदै पार्टीभित्र सभापतिले विश्वासको दायरा बढाउन नसकेको पनि आरोप लगाएका छन् ।

ढकालले पार्टी सभापति आफैं गृहमन्त्री बनेको प्रति पनि प्रश्न उठाएका छन् । समीक्षा प्रतिवेदनमा ढकालले सभापति लामिछानेप्रति प्रश्न उठाउँदै ‘चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको ? सभापति आफै गृहमन्त्री भएर किन गएको ?’ भन्दै प्रश्न गरेका छन् ।

यस्तै, उनले गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई कहिले समातिन्छन् भनेर पनि सोधेका छन् । समात्न नसकिने भए प्रतिपक्षीमा हुँदा किन म्याद तोकेर बोलेको प्रश्न गर्दै उनले भनेका छन्, ‘जिबी राई कहिले समातिन्छन् ? समात्न सकिँदैनथ्ये भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको ?’

उनले कञ्चनपुरमा चार वर्षअघि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय कहिले मिल्छ भन्दै लामिछानेमाथि प्रश्न गरेका छन् । साथै, उनले सभापति लामिछानले पार्टीमा पूर्वग्यालेक्सी टिभीका सहकर्मी थुपारेको समेत आरोप लगाएका छन् ।

यस्ता छन् ढकालको रविमाथि १० प्रश्न

१, चेसमा रानी धेरै चल्दैन ? तर, हाम्रो पार्टीमा सभापति नै किन धेरै चलेको ? सभापति आफैँ गृहमन्त्री भएर किन गएको ? सिके राउत जस्तो किन ब्याक नबसेको ?
२, जिबी राई कहिले समातिन्छन् ? समात्न सकिन्दैनथ्यो भने प्रतिपक्षमा हुँदा किन म्याद ताकेरै बोलेको ?
३, सभापतिसँग भेट्नभन्दा नरेन्द्र मोदीलाई भेट्न सजिलो छ ।
४, सभापतिको सचिवालयमा मेदुभाषी भएनन् । यही सचिवालयबाट अगाडि बढे सभापतिको राजनीति सम्भव छैन ।
५, किन ग्यालेक्सीको टिम धेरै भयो ? सभापतिले विश्वासको दायरा बढाउन किन नसकेको हो ?
६, सरकारमा गएपछि सोचेअनुरूप फाइल किन खोलिएन ?
७, निर्मला पन्तलाई न्याय कहिले मिल्छ ?
८ ब्लू बस र रोजगारीको कुरा कहाँ पुग्यो ?
९, सभापतिमा त्यागको भावना छैन भन्ने सन्देश गएको छ ।
१०, सिधाकुरा जनतासँग कार्यक्रममा बोलेका कुरा जनताले सम्झिरहेका छन् । तर, सभापतिले बिर्सिए जस्तो छ । पार्टीको मेरुदण्ड त्यही कार्यक्रम थियो । पार्टीमा सिधाकुरा जनतासँग कार्यक्रमका मान्छे पनि केन्द्रीय स्तरमै आए । सभापति सचिवालमै बसे । तर, तिनीहरुले पनि सिधाकुरा जनतासँग कार्यक्रम बिर्से र अरु राजनीति गर्न थाले ।
उल्लिखित प्रश्नहरुको जवाफ सभापतिबाट प्राप्त हुनेछ भनेर यहाँ थप केही लेखिएन ।

प्रतिक्रिया दिनुहोस्