Logo
Logo

एकीकृत समाजवादीको महाधिवेशन : २९९ सदस्यीय नयाँ नेतृत्व घोषणा गर्ने तयारी


1.8k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको २९९ सदस्यीय केन्द्रीय कमिटी (नयाँ नेतृत्व) घोषणा गर्दै आज दसौँ राष्ट्रिय महाधिवेशन समापन हुँदैछ । असार १६ गतेदेखि सुरु भएको महाधिवेशन आज छैटौं दिनमा समापन गर्ने तयारी गरिएको हो ।

महाधिवेशनले अध्यक्ष, महासचिव र सम्मानित नेताबाहेक १८ पदाधिकारीसहित २९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी घोषणा गरिने नेता एकीकृत समाजवादीले जनाएको छ । नेता जीवनराम श्रेष्ठका अनुसार शुक्रवार बिहान १० बजे नयाँ कमिटी घोषणा गरिने भनिए पनि आन्तरिक छलफलका कारण ढिला भएको बताए । उनले अपराह्नसम्ममा नेतृत्व चयन सकिने बताए ।

मुख्य तीन पदमा बिहीबारै सहमति जुटाएर घोषणा गरिएपनि अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा सहमति जुट्न बाँकी रहेकाले आजलाई सारिएको थियो । बाँकी पदाधिकारी र केन्द्रीय सदस्य पनि सर्वसम्मत छनोट गर्ने तयारी गरेका छन् । त्यसको जिम्मेवारी सचिवालयलाई दिइएको छ ।

दिउँसो ३ बजेसम्म नयाँ कमिटी घोषणा हुने नेता श्रेष्ठले बताए । त्यसपछि सचिवालय बैठक बसेर नयाँ नेतृत्व घोषणा गर्ने तयारी रहेको उनको भनाइ छ ।

एकीकृत समाजवादीमा २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्माण गर्ने विधान पारित भैसकेको छ । बिहीबार नै अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएको घोषणा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्