काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।
प्रधानमन्त्री दाहालले विश्वासको मत लिने प्रयोजनका लागि संसद् सचिवालयलाई पत्राचार समेत गरिसकेका छन् । एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमाले ८ जना मन्त्रीहरुले राजीनामा दिएका थिए ।
“मेरो नेतृत्वमा संवत् २०७९ पुस ११ गते गठित सरकारमा सहभागी दलहरुमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान भए अनुरुप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ”, पत्रमा भनिएको छ ।
गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ समीकरण बनाउँदै सरकार गठन र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको थियो ।