काठमाडौं । गृहमन्त्री रवि लामिछानेले संसद्को रोष्टममा उभिएर भ्रष्टाचारको फाइल खोल्न र कारबाही गर्न शक्तिशाली आयोग गठन गर्न लागेको जानकारी दिएलगत्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका दुई व्यक्ति पक्राउ परे ।
लामो समयदेखि फरार रहेका प्रतीक थापा र बेचन झालाई प्रहरीले पक्राउ गरेको हो । थापा काठमाडौंस्थित आफ्नो घरमा आएको बेला पक्राउ परेका हुन भने झालाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको छ ।
एक साताअघि गृहमन्त्री लामिछानेले प्रतिनिधिसभामा विनियोजन विधेयकअन्तर्गत गृह मन्त्रालयको शीर्षकमाथिको छलफलमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै विभिन्न फाइल खुलिरहेको र पुराना फाइल खोल्न आयोग बनाउन लागेको जानकारी दिएको दुई चार दिनमै उनीहरू पक्राउ पर्नुलाई संयोग मात्र मानिएको छैन ।
गृहमन्त्री लामिछाने आफै सहकारी ठगीमा मुछिएको र छानबिनमा परिरहेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई फरार आरोपीलाई पक्राउ गरेर कांग्रेसलाई दबाबमा राखेका छन् ।
‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारलाई अनुसन्धान गर्न २५ वटा पुराना फाइल एकत्रित गर्दै एउटा शक्तिशाली आयोग गठन गर्ने व्यवस्था यसै वर्षको बजेटमा भएको छ, बजेट पास भएको दुई महिनाभित्र विगतमा भएका २५ वटा काण्डको फाइल तयार गर्न शक्तिशाली आयोग बन्न लागेको छ,’ गृहमन्त्रीले ससंदमा भनेका थिए ।
बाँसबारीको जग्गा, बालमन्दिर, सहकारीपीडित मुद्दा, सरकारी कागजात किर्ते, अनलाइन सट्टेबाजी फाइल खुलेको जानकारी गराउँदै लामिछानेले भुटानी शरणार्थीको बन्द भएको फाइल खुल्ने क्रममा रहेको उल्लेख गरेका थिए ।
‘बालमन्दिर, स्काउट, बाँसबारीको फाइल बन्द भएको छैन । टीकापुरको फाइल खुलिरहेको छ । बृहत् जनकपुरको नौ हजार बिघा जग्गाको फाइल तयार हुने क्रममा छ । भर्खरै काभ्रेको पतञ्जली आयुर्वेद कम्पनीको फाइल खुलेको छ,’ उनले भनेका थिए । टिकापुर जग्गा काण्डमा आरजु राणाको संलग्नता फेला परेको छ ।
गृहमन्त्री लामिछानेले गिरीबन्धु टि–स्टेटलगायतमा कानुन उल्लङ्घन भएको विषयमा आवश्यक अनुसन्धान हुने बताएका थिए । ‘कुनै पनि अपराधका घटनामा सम्भावित अभियुक्त को छ भन्ने आधारमा अनुसन्धान प्रभावित हुँदैन,’ उनले भनेका थिए ।
गिरीबन्धुमा अदालतको आदेशको अक्षरशः पालना हुने पनि उनले बताएका थिए । ‘ठगिएको, बैना दिएको जोकोही पनि पीडित हुनुहुन्छ, अप्ठ्यारो परेको सन्दर्भमा मैले सिआइबीलाई अनुसन्धानका लागि भनिसकेको छु,’ उनले भनेका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेमध्ये एक पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक छन् । उनी थापा गृहमन्त्री हुँदा स्वकीय सचिव थिए । अघिल्लो पटककै अनुसन्धानमा प्रहरीले उनको संलग्नता पाएको थियो ।
गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खोल्न र कारबाही गर्न शक्तिशाली आयोग गठन गर्न लागेको जानकारी दिएलगत्तै नक्कली शरणार्थी प्रकरणमा मुछिएका प्रतीक थापा र बेचन झा पक्राउ परे । बेचनको सम्बन्ध कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु देउवासम्म रहेको प्रहरीको अनुमान छ ।
उक्त कुराको समाचार बाहिरिएपछि अनुसन्धानलाई सघाउन आफू तयार रहेको भन्दै विज्ञप्तिसमेत निकालेका थिए । जब प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी लियो । त्यसपछि भने उनी फरार भएका थिए । उनी नेपाल र भारत ओहोरदोहोर गरिरहेको बेला बौद्धमा रहेको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ पर्ने अर्का व्यक्ति बेचन झा हुन् । उनलाई पश्चिमी सिमाना कञ्चनपुरबाट पक्राउ गरिएको थियो । उनी यो प्रकरणमा देखिएका एक शंकास्पद् पात्र हुन् । झाले गिरोहका एकजना सदस्य रामशरण केसीसँग दुई करोडको चेक लिएको पाइएको छ । केसीले मुख्य योजनाकार सानु भण्डारीले भनेअनुसार हिमालयन बैंकको चेक झालाई दिएको प्रहरीसँगको बयानमा भनेका छन् ।
सो रकम झाले शरणार्थी प्रकरणमा मन्त्रिपरिषद्बाट ‘आवश्यक निर्णय गराउन’ भनेर बुझेको अनुसन्धान अधिकारीहरूले बताउने गरेका छन् । उक्त कुरा मुख्य योजनाकार भण्डारीले नै भनेका छन् । अघिल्लो अनुसन्धानमा झाको त्यसभन्दा बढी पहिचान खुलेको थिएन । उनको ठेगानासमेत स्पष्ट हुन नसक्दा प्रहरीले अदालतसमक्ष सोही ब्यहोरा राखेको थियो । जिल्ला अदालत काठमाडौँले उनी पक्राउ परेका बखत थप अनुसन्धान गर्न प्रहरीलाई सहमति दिएको थियो ।
‘हाई–प्रोफाइल’ को संलग्नता खुल्ने आशा
प्रतीक र बेचन पक्राउ परेपछि शरणार्थी प्रकरणमा थप ‘हाई–प्रोफाइल’ को संलग्नता खुल्ने आशा प्रहरीलाई छ । तर, प्रतीकको विषयमा प्रमाणहरू कमजोर रहेकाले उनको पक्राउ भन्दा पनि झाको पक्राउलाई प्रहरीले महत्त्व दिइरहेको छ । पूर्वगृहमन्त्री थापाका छोरा प्रतीकले शरणार्थी प्रकरणमा संलग्नताको पर्याप्त प्रमाण नै नरहेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले बताउने गरेका छन् ।
सोही प्रकरणमा ठगिएका एक पीडितले गरेको जाहेरीमा नै मुख्य योजनाकार केशवप्रसाद दुलालसँग प्रतीक एक रेस्टुरेन्टमा बसेको अवस्थामा भेटिएका थिए । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने विषयमा भएको छलफलमा प्रतीकले ‘काम अगाडि बढ्छ, पैसा जम्मा गर्नुस् भनेर’ समेत भनेको जाहेरीमा उल्लेख छ। थापाले भनेअनुसार नै पैसा दिएको जाहेरीमा उल्लेख छ ।
अर्का मुख्य योजनाकार सानु भण्डारीले प्रतीकले भनेअनुसार नै उनकी आमा नैनकला थापालाई पैसा दिएको बयान नै दिएका छिन । तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीकमात्र होइन्, उनका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, राईका छोरा निरजको समेत शरणार्थी प्रकरणमा संलग्नता खुलेको थियो ।
सल्लाहकार राई पक्राउ परेर पुर्पक्षका लागि थुनामा छन् । छोरा निरज भने अझै पनि फरार छन् । उनीहरूले तत्कालीन गृहमन्त्री थापाको सचिवालयमै बसेर शरणार्थी प्रकरणमा काम गरेको पाइएको अनुसन्धान अधिकारी बताउँछन् ।
तत्कालीन गृहमन्त्री थापा भने अहिलेसम्म जोगिएका छन् । उनीविरुद्ध हालसम्म कुनैपनि बलियो प्रमाण फेला नपरेको प्रहरीको दाबी छ । अहिले प्रतीकको पक्राउले उनको समेत ‘नेक्सस कनेक्सन’ पाइनसक्ने सम्भावना रहेको प्रहरी अधिकारीहरू बताउँछन् । उता बेचनले मन्त्रिपरिषदमा निर्णय नै गराउने भनेर दुई करोड लिएको प्रहरीले भेट्टाएको छ ।
बेचनको सम्बन्ध कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु देउवासम्म रहेको प्रहरीको अनुमान छ । प्रहरीसँगको बयानमा रामशरण केसीले ‘२०७८ मङ्सिर १३ मा बसेको मन्त्रिपरिषद्बाट भुटानी शरणार्थीसम्बन्धी निर्णय गराउन बेचन झाले रकम मागेको भनेर सानु भण्डारीले भनेपछि हिमालयमा बैंकमा रहेको खाताबाट बेचन झाको नाममा २ करोडको चेक काटेर दिएको हुँ,’ भनेका छन् ।
केसीले बुझाएको चेकको फोटोसमेत प्रहरीले फेला परेको छ । बेचन पक्राउ पर्दा मन्त्रिपरिषद्का तत्कालीन सदस्यसँग कुनै सम्बन्ध भए÷नभएको विषयमा प्रहरीले अनुसन्धान गर्न सक्ने देखिन्छ । ‘बेचनलाई गिरोहले त्यत्तिकै त्यत्रो रकम दिएको होइन भन्नेमा प्रहरी ढुक्क छ । उनको सम्बन्ध कुनै न कुनै भिभिआइपीसँग भएकैले उनीहरूले विश्वास गरेर रकम दिएको हो,’ अनुसन्धानमा खटिएका एकजना प्रहरी अधिकारी भन्छन्, ‘पक्राउ परेर आफू फस्ने अवस्था आए केही कुरा ओकल्न सक्छन् ।’
दुवैजनासँग थप अनुसन्धान हुँदा केही न केही नयाँ नेक्सस खुल्ने आशा प्रहरीलाई भएपनि राजनीतिक स्तरबाट आउन सक्ने सम्भावित दबाब भने चिन्ताको विषय रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।
मन्त्री लामिछानेले सुनको अवैध तस्करीलगायत गैरकानुनी तथा आपराधिक कार्य नियन्त्रण गर्ने र कसुर गर्ने व्यक्तिलाई कानुनको दायरामा ल्याउने कार्यमा गृह प्रशासन प्रतिबद्ध रहेको उल्लेख गर्दै पछिल्लो तीन महिनामा प्रहरीले ११० केजी सुन बरामद गरेको जनाएका थिए ।
उनले स्थानीय प्रशासनमार्फत अतिक्रमित सरकारी–सार्वजनिक जग्गाको लगत संकलन गर्ने र अतिक्रमित जग्गा फिर्ता ल्याउने कार्यको अभियान नै चलाएको उल्लेख गरेका थिए ।
पछिल्लो तीन महिनामा अतिक्रमित र गैर–कानूनी प्रयोग गरिएको ६३३ बिघा ७ कठ्ठा १३ धुर सार्वजनिक तथा सरकारी जग्गा साबिककै अवस्थामा फिर्ता ल्याइएको तथ्याङ्क प्रस्तुत गरेपनि अघिल्लो पटक नारायणकाजी श्रेष्ठले गरेको कामलाई पनि आफैले गरेको सरह उल्लेख गरेका थिए ।
सहकारी प्रकरणमा आफूमाथि नैतिक प्रश्न उठाइएकोमा मन्त्री लामिछानेले स्वार्थको द्वन्द्वबारे आफूलाई राम्रो जानकारी भएको जवाफ दिँदै गर्दा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका दुई व्यक्तिको पक्राउले उनको मनोबल उकासेको छ ।
अझै अल्झियो सुनुवाइ
प्रहरीले एक वर्षअघि नै दायर गरेको नक्कली भुटानी शरणार्थी मुद्दा हालसम्म पनि सुनुवाइमा गएको छैन । सबै प्रतिवादीले म्याद नबुझेको भन्दै अंग नपुगेकाले जिल्ला अदालत काठमाडौंले पेसी चढाएको छैन । अहिले दुईजना पक्राउ परेपनि इन्द्रजीत राईका छोरा निरज राई लगायतका आरोपीहरू पक्राउ परेका छैनन् ।
नक्कली भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेका हाई प्रोफाइल नेता र प्रशासकसहित गत वर्ष १० जेठमा ३० जनामाथि मुद्दा दायर भएको थियो । जसमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा, बहालवाला सचिव टेकनारायण पाण्डेलगायत प्रतिवादी रहेको यो मुद्दाको सुनुवाइ अझै अघि बढ्न सकेको छैन । खाण भने धरौटीमा रिहा भैसकेका छन् ।
शरणार्थी मुद्दामा अझै पनि ८ जना फरार छन । जिल्ला अदालत, काठमाडौंका अनुसार ३० प्रतिवादीमध्ये ८ जनाको हकमा म्याद बुझेको वा नबुझेको जानकारी आइपुगेको छैन । जसमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार रहेका डा. इन्द्रजित राईका छोरा नीरज राईसमेत छन् ।
त्यस्तै, प्रतिवादीहरू अशोककुमार पोखरेल, निरञ्जनकुमार खरेल, धीरेन राई, दीपा हुमागाईं, नीरज राई, मोहनराज राई, विनीता सामदेन लिम्बू, सुनील बुढाथोकी, राजेश अर्यालसमेत फरार रहेको अदालतको विवरण छ । अशोककुमार पोखरेल र निरञ्जनकुमार खरेलको हकमा पक्राउका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिएको छ ।
पोखरेलको स्थायी ठेगाना सुनसरीको इटहरी हो । उनी अमेरिका बस्ने गरेको अभियोगपत्रमा उल्लेख छ । प्रतिवादीमध्येका सागर राई, केशवकुमार दुलाल, टेकनाथ रिजाललगायतले उनको नाम प्रहरीसमक्ष लिएका थिए । उनको खातामा रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट देखिएको छ । खरेल पूर्वप्रहरी समेत हुन् । उनी आफैँ पीडित भए पनि अरूको समेत पैसा उठाएर बुझाएकाले मुद्दामा प्रतिवादी बनेका हुन ।
सानु भण्डारीले खरेलले लिएर आउने फारम भरी पैसा दिई पठाउन चौधरीलाई भनेका थिए । मुद्दाका अन्य प्रतिवादी धीरेन राई, दीपा हुमागाईं, नीरज राई, मोहनराज राई र विनीता सामदेन लिम्बूको म्याद घरदैलोमा टाँस भएको अदालतले जनाएको छ ।
यसैगरी म्याद बेपत्ता तामेल भएको वा घर फेला नपरेको प्रतिवादीहरूको पनि टाँस भएको छ । सुनील बुढाथोकी र राजेश अर्यालका हकमा म्याद टाँस भएको हो । मुद्दा दायर गर्दा सुरुमा १८ र पछि २० जना नै पक्राउ परेका थिए भने १० जना फरार थिए । गत शुक्रबार दुईजना पक्राउ परेका छन् ।
यस मुद्दामा थुनछेक सम्बन्धमा सर्वोच्चबाटै टुङ्गिए पनि जिल्लामा भने सुनुवाइ सुरु हुन सकेको छैन । पछिल्लोपटक थुनछेक आदेश दिँदै सर्वोच्च अदालतले पूर्वसचिव टेकनारायण पाण्डेको रिट खारेजको आदेश गरेको छ । १३ वैशाखमा सर्वोच्चको संयुक्त इजलासले पाण्डेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेजको फैसला गरेको हो । त्यसपछि उच्चकै आदेशअनुसार उनी थुनामा रहनुपर्ने भएको छ ।
पाण्डे गत ८ फागुनमा सर्वोच्च पुगेका थिए । पाण्डेका साथै यसै प्रकरणमा दर्ता भएका ११ वटा निवेदनमाथि न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले सुनुवाइ गरेको थियो । पूर्वसांसद आङटावा शेर्पालाई भने सर्वोच्चले धरौटी माग गरेर छाडेको छ । उनी उच्च अदालतको आदेशबाट थुनामै थिए ।
यसै मुद्दाका प्रतिवादी शमशेर मियाँलाई भने उच्च अदालतले धरौटी माग गरेर छाडेकोमा सर्वोच्चले साधारण तारेखमा रिहा गरेको थियो । सचिव पाण्डेसहित केशवप्रसाद दुलाल, सन्देश शर्मा, टोपबहादुर रायमाझी, सागर राई, डा. इन्द्रजित राई, सानु भण्डारी भने कारागारमै छन् ।
प्रतिवादी गोविन्दकुमार चौधरीलाई भने उक्त इजलासले धरौटी मागको आदेश गरेको छ । उनी पनि उच्च अदालत पाटनको गत १५ मंसिरको आदेशबाट थुनामै थिए । उच्चले थुनामा राख्ने आदेश गरेकामध्ये चौधरी र शेर्पाको हकमा मात्र उच्चको आदेश सर्वोच्चले बदर गरेको हो ।
तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटी माग गरेर छाड्ने आदेशविरुद्ध सरकारी पक्ष पुनरावेदनमा सर्वोच्च गएको छैन । यससँगै यस प्रकरणका सातजना थुनामै रहेका छन् भने १३ जना थुनाबाहिरै र तारेखमा रहेको जिल्ला अदालतले जनाएको छ । यो ठगी प्रकरणका मुख्य बिचौलिया मानिएका बेचन झालाई प्रहरीले पक्राउ गरेपछि भने ठूलो नेक्सस खुल्ने अपेक्षा गरिएको छ ।