काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री बन्ने प्रयासमा छन् । लामो छलफल र गृहकार्यपछि सोमबार मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच नयाँ सरकार बनाउने सहमति भएको थियो ।
सोही सहमतिअनुसार अहिले कांग्रेस–एमाले ओलीको नेतृत्वमा सरकार गठन गर्ने तयारीमा जुटेका छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिएर कांग्रेस–एमालेको समीकरणलाई अप्ठ्यारोमा पार्न खोजिरहेका छन् । कतिपयले यसलाई पुरानै समीकरण ब्युँताउनु प्रचण्डले प्रयास थालेको रुपमा समेत विश्लेषण गर्न गरेका छन् । यता, ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने संस्थागत रूपमै निर्णय गरिसकेका कांग्रेस–एमालेले भने प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोल्न आग्रह गरिरहेका छन् ।
कांग्रेस–एमालेले राजीनामा गराउन दबाब दिइरहे पनि प्रधानमन्त्री प्रचण्ड भने अरू दललाई आफ्नो पक्षमा लिएर काउन्टर दिने प्रयासमा छन् । बिहीबार रास्वपाका मन्त्रीहरू राजीनामा बुझाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । तर, मन्त्रीहरूको राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका शीर्ष नेताहरू प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि राजीनामा नदिई फर्किए ।
राजीनामा पत्र बोकेर बालुवाटार छिरिसकेका गृहमन्त्री लामिछानेसहित चारै जना मन्त्रीहरू राजीनामा नबुझाई फिर्ता हुनुले फेरि अर्को संशय पैदा गरेको छ । एमाले सरकारबाट बाहिरिएपछि पहिलोपटक बसेको मन्त्रिपरिषद् बैठकमा पनि प्रधानमन्त्री प्रचण्डले सरकारले राजीनामा नदिने भन्दै ब्रिफिङ गरेका थिए । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्रीसामू विश्वासको मत लिन १८ साउनसम्मको समय छ ।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ चाहिन्छ । प्रचण्डसँग अहिलेसम्म माओवादीको ३२, रास्वपाको २१ र एकीकृत समाजवादीको १० गरी ६३ सांसद छन् । जबकि उनको विकल्पमा नयाँ सरकार गठन गर्न सहमत भएका कांग्रेससँग ८८ र एमालेसँग ७९ गरी १ सय ६७ अर्थात् प्रस्ट बहुमत छ । प्रतिनिधिसभामा बहुमत जुटाउन १ सय ३८ सांसदको समर्थन चाहिन्छ । तर प्रधानमन्त्री राजीनामा दिने पक्षमा छैनन् ।
अल्पमतमा पर्ने प्रस्ट भएपछि प्रचण्डले राजीनामा दिन सक्थे, तर उनी संसदमा आफ्नो धारणा राख्ने सुविधा प्रयोग गरेरै बाहिरिन चाहन्छन् । उनको चाहना सामान्य संवैधानिक प्रबन्धको उपयोग गर्नेमा सीमित भने छैन । उनी सरकार ढालेर आफूलाई अफ्ठ्याराेमा पार्ने ओलीलाई किन सजिलो बनाएर फुत्त हिँड्ने भन्ने पक्षमा छन् ।
ओलीले आफूलाई नराम्रोसँग झुक्क्याएको अनुभूति उनलाई भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अघि सारेर प्रचण्डले नयाँ खेल खेल्ने सम्भावना पनि छ । एकीकृत समाजवादी पनि प्रचण्डकै पक्षमा उभिएको छ ।
अहिलेसम्मको अवस्था हेर्दा प्रचण्ड विपक्षी मोर्चा बलियो बनाउने रणनीतिमा देखिन्छन् । प्रचण्डले विश्वासको मत नपाउनु संवैधानिक रुपमा देउवाका लागि यो फाइदाजनक भए पनि ओलीलाई प्रधानमन्त्री बनाउनु पर्ने अर्कोतिर सहमति भएकाले कुन आधारमा सरकार गठनको आह्वान गर्ने भन्नेबारे एकतर्फ शीतलनिवास संकटमा पर्ने देखिएको छ । साथै अब कसरी जाने भन्नेबारे कांग्रेस–एमाले गठबन्धनमा पनि छटपटी बढ्ने देखिन्छ ।