काठमाडौं । मधेश प्रदेश सरकारबाट नेकपा माओवादी र एकीकृत समाजवादी बाहिरिने भएको छ । मधेश प्रदेश सरकरमा माओवादी र समाजवादीबाट दुई–दुई जना मन्त्री छन् । उनीहरुले आज शनिबार राजीनामा बुझाउने तयारी गरेका छन् ।
माओवादी अर्थ र उद्योग तथा पर्यटन र एकीकृत समाजवादी उर्जा सिँचाई तथा खानेपानी र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसहित सरकारमा छ । संघमा नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता समीकरण गर्ने सहमती भएसँगै दुवै दलका मन्त्रीलाई मुख्यमन्त्री सतिश सिंहले राजीनामा दिन भनेका थिए ।
दुवै दलले राजीनामा बुझाएलगत्तै नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारमा सहभागी हुनेछन् । मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदैछन् ।
बिहान ११ बजे विश्वासको मत लिन प्रदेशसभा बैठक बोलाइएको छ । त्यसअघि नै कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउन लागिएको भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता सरोजकुमार यादवले बताए ।
उनका अनुसार कांग्रेसले चारवटा र लोसपाले दुईवटा मन्त्रालय मागेको छ । लोसपालाई भने तत्काल एउटा मन्त्रालय दिएर सरकारमा सहभागी गराइने उनले बताए ।
नेपाल संघीय समाजवादी पार्टीबाट गृहमन्त्री रहेकी विमला अन्सारी र नागरिक उन्मुक्तीबाट श्रम तथा यातायातमन्त्री रहेकी उर्मिला देवीसिंह चौधरीले पनि राजीनामा दिन लागेका छन् ।