नवलपुर । नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँधका सबै ढोका खोलिएका हुन् ।
गण्डक ब्यारेजमा निर्माण गरिएका ढोका बन्द हुँदा जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ बगुबन क्षेत्र डुबानमा परेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको गण्डक ब्यारेजका सम्पर्क तथा भूआर्जन अधिकृत काशिनाथ हरिजनले बताए । शुक्रबार साँझदेखि अविरल वर्षापछि गण्डक क्षेत्रमा पानीको बहाव निरन्तर बढ्दै गएको छ ।
आज बिहान ७ बजे गण्डक ब्यारेजमा पानीको बहाव चार लाख ४० हजार ७५० क्युविक सेन्टिमिटर (क्युसेक) रहेको हरिजनले बताए । गण्डक ब्यारेजमा बाँध लगाएर भारतले सिँचाइका लागि नहरमार्फत बिहार र उत्तर प्रदेशमा पानी लगेको छ । ब्यारेजका सबै ढोका खोलिएपछि सिँचाइका लागि लगिएको नहरको ढोका बन्द गरिएको छ ।