सुनसरी । निरन्तर अविरल परेको वर्षाको कारण सप्तकोसीमा पानीको बहाव उच्च भएको छ । आज बिहान ९ः०० बजेको मापनअनुसार पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको सुनसरी प्रहरीले जनाएको छ ।
पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झन्डा गाडिएको छ भने ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । सप्तकोसी ब्यारेजले प्रतिघण्टा ४ लाख क्युसेकसम्म धान्न सक्ने छ । तर अझै पानीको बहाव बढ्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।
८ बजेको मापनमा प्रतिघण्टा ३ लाख ४९ हजार क्युसेक थियो भने ७ बजे ३ लाख ४२ हजार क्युसेक पानी थियो । पानीका बहाव बढेपछि उच्च सतर्कता अपनाउनुको साथै नदी किनारतिर निगरानी बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।