काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
साथै उनले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । आइतबार बिहान सामाजिक सञ्जालमार्फत अफिल गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।
प्रधानमन्त्रीले सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध गरेका छन् । सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण समितिको बैठक राखेर आवश्यक पूर्वतयारीको काम गरिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग अपिल गरेका छन् ।