काठमाडौं । लामो छलफल र गृहकार्यपछि गत सोमबार मध्यरातमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच नयाँ सरकार बनाउने सहमति भयो । सोही सहमतिअनुसार अहिले कांग्रेस–एमालेले एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने तयारीमा गरिरहेका छन् ।
कांग्रेस र एमालेले संविधानको धारा ७६(२)अनुसार आलोपालो सरकार बनाउने सहमति गरेका छन् । सहमति दुवै पार्टीले अनुमोदनसमेत गरिसकेका छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिएर कांग्रेस–एमालेको समीकरणलाई अप्ठ्यारोमा पार्न खोजिरहेका छन् । यता, ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने संस्थागत रूपमै निर्णय गरिसकेका कांग्रेस–एमालेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोल्न आग्रह गरिरहेका छन् ।
कांग्रेस–एमालेले राजीनामा गराउन दबाब दिइरहेपनि प्रधानमन्त्री प्रचण्ड भने अरू दललाई आफ्नो पक्षमा लिएर काउन्टर दिने प्रयासमा छन् । बिहीबार रास्वपाका मन्त्रीहरू राजीनामा बुझाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । तर, मन्त्रीहरूको राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका शीर्ष नेताहरू प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि राजीनामा नदिई फर्किए ।
अहिलेसम्मको अवस्था हेर्दा प्रधानमन्त्री प्रचण्ड विपक्षी मोर्चा बलियो बनाउने रणनीतिमा देखिन्छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अघि सारेर ओलीलाई सत्ता हस्तान्तरण नगर्ने नीति बनाएका छन् । त्यसो त एकीकृत समाजवादी पनि प्रचण्डकै पक्षमा उभिएको छ ।
रास्वपा र एकीकृत समाजवादीलाई मात्रै नभई प्रधानमन्त्री प्रचण्डले नयाँ सहकार्य गरेका कांग्रेस–एमालेकै असन्तुष्ट पक्षलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेका छन् । शनिवार कांग्रेसका इतर समूहका नेता डाक्टर शेखर कोइरालालाई बालुवाटार बोलाएर छलफल गर्नाले पनि उक्त कुरा पुष्टि हुन्छ ।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाको अनुसार भेटमा परिवर्तित राजनीतिक परिस्थितिबारे छलफल भएको छ । कोइरालाले प्रधानमन्त्री प्रचण्डले संसद्मा विश्वासको मत नपाए ७६(३) अनुसार सरकार बन्नेतर्फ सचेत हुनुपर्ने बताएको अर्को दिन यी नेताबिच भेटवार्ता भएको हो । गत शुक्रवार कोइरालाले कांग्रेस–एमाले सहमति भए पनि खुसी भइहाल्ने अवस्था आइनसकेको भन्दै नयाँ सरकार गठन प्रक्रिया संविधानको धारा ७६(३)मा जान सक्ने आशंका व्यक्त गरेका थिए ।
शेखरले दिएको अभिव्यक्ति नयाँ बहस सिर्जना गरेकै वेला उनको प्रधानमन्त्री प्रचण्डसँगको भेटले राजनीति वृत्तमा थप तरङ्गित बनाएको छ । प्रधानमन्त्रीले २८ असारमा संसद्मा विश्वासको मत लिने तयारी गरिरहेका वेला आएको उनको अभिव्यक्तिले आलोपालो सरकारको नेतृत्व गर्ने गरी सहमति गरेका दुई दलका शीर्ष नेतालाई पनि सतर्क बनाएको छ ।
कांग्रेस नेता शेखर कोइराला कांग्रेसकै प्रतिपक्षी नेता हुन् । कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवासँग लड्ने इच्छा हुँदाहुँदै पनि महामन्त्री गगन थापालाई सघाएका उनी कांग्रेसले सरकारको नेतृत्व लिने अवसर मिलेमा केही नयाँ कदम चाल्न तयार हुनेमा शंका छैन ।
कोशी प्रदेशमा आफ्नै पार्टीले माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने निर्णय गरेको बेला आफू निकटका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेसँग सहकार्य गरेका उनी अहिलेको परिस्थितिमा त्यसै रोकिएलान् भन्न सकिन्न ।