कैलाली, १३ बैशाख । प्रोग्रेसिभ इञ्जिनीयरिङ एशोसिएशन (पिन) सुदूरपश्चिमद्वारा सेती प्रादेशिक अस्पताल धनगढीलाई स्वचालित स्यानिटाइजेशन टनेल शुक्रबार हस्तान्तरण गरेको छ ।
पिन सुदूरपश्चिमका अध्यक्ष गोकुलदेव जोशीले अस्पतालका अध्यक्ष दुर्गा जोशीलाई सो स्यानिटाइजेशन टनेल हस्तान्तरण गरी जडान गरिएको हो । टनेलको शुभारम्भ गर्दै पूर्वसामाजिक विकासमन्त्री एवं सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य दीर्घराज सोडारीले टनेलको प्रयोगले अस्पतालमा कोराना भाइरसबाट हुने संक्रमणको जोखिम कम गर्न मद्दत पुग्ने बताए ।
अस्पतालका अध्यक्ष दुर्गा जोशीले टनेलले दैनिकरूपमा सेवा दिन आत्मबल पुग्ने विश्वास व्यक्त गरे । उक्त टनेलको प्रयोग गर्दा चार सेकेन्डमा पूरै शरीरमा स्यानिटाइजर पुग्ने र कोरोनाको सङ्क्रमण फैलन जोखिम नरहने बताइएको छ । स्थानीय स्रोत साधनको प्रयोग गरी स्यानिटाइजेशन टनेल निर्माण गरिएको पिन सुदूरपश्चिम प्रदेशका अध्यक्ष जोशीको भनाइ छ ।