Logo
Logo

रास्वपाका मन्त्रीलाई एमालेको प्रश्न- गोजीमा भएको राजीनामा पत्र खोई ?


504
Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भन्दै प्रश्न गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै बर्तौलाले सरकार बहुमतमा हुँदा गोजीमा राजीनामा पत्र बोकेर हिँडेका मन्त्रीहरूले अहिले सरकार अल्पमतमा परेर पनि राजीनामा नदिएको भन्दै रास्वपाका मन्त्रीलाई यस्तो प्रश्न गरेका हुन् । प्रमुख सचेतम बर्तौलाले भने, ‘गोजीमा भएको राजीनामा खै कहाँ गयो ?’

मन्त्रीहरूलाई आफू पदमा बसुन्जेल कुन–कुन फाइल खोल्नुपर्ने हो खोल्नका लागि उनले चुनौती दिए । ‘प्रधानमन्त्रीज्यू आज पनि कुर्सीमा आसिन हुनुहुन्छ । केही मन्त्रीज्यूहरू हुनुहुन्छ । हिजो सरकार बहुमतमा थियो । सरकार चलिरहेको थियो’ उनले भने, ‘केही राजनीतिक पार्टीका मन्त्रीहरू सरकार बहुमतमा भएको बेलामा, सरकार चलिरहेको बेलामा गोजीमा राजीनामा हालेर, बोकेर हिँड्नुहुन्थ्यो । तर सरकार स्पष्ट अल्पमतमा परेको छ, ती साथीहरूको गोजीमा भएको राजीनामा कहाँ पुग्यो ? हामीले सुन्यौं दलबाट निर्णय भयो राजीनामा दिने, सरकारबाट फिर्ता हुने ।’

उनले प्रधानमन्त्रीले कानेखुसीमा गाउँ खाने कथा भनिदिएको भन्दै त्यसपछि राजीनामा खुत्रुकेमा जतनसाथ राखेर रास्वपाका मन्त्रीहरु फर्किएको बताए ।

उनले भने, ‘मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । कुन फाइल कसरी खोल्नुपर्ने हो ? यो सदनमा हामी माग गर्न चाहन्छौं, जतिदिन तपाईंहरू पदमा रहनुहुन्छ, खोल्नुहोस् । माग गर्न चाहन्छु कुन–कुन फाइल कसरी खोल्नुपर्ने हो ? तपाईंहरूले धम्की मात्रै दिएर पुग्छ ? यो संसदको हार्डडिस्कमा मात्रै सुरक्षित छैन । हाम्रा दिमागमा पनि सुरक्षित छ ।’

प्रतिक्रिया दिनुहोस्