काठमाडौं, १३ बैशाख ।
सरकारले १५ बैशाखपछि पनि लकडाउन लम्बाउने निश्चित भएको छ । केही जिल्लाहरुमा भने लकडाउनको ढाँचा परिवर्तन गर्ने बारे छलफल अघि बढेको छ । यसबारे निर्णय गर्न कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठक आज बस्दैछ । बैठकले लकडाउन लम्बाउने निश्चित रहेको तर कुन कुन क्षेत्रमा पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर खुला गर्ने बारे छलफल भइरहेको एक मन्त्रीले बताए ।
संक्रमण विस्तार हुँदै गएकाले लकडाउन अझै केही हप्ता लम्बिने कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिमा आबद्ध एक मन्त्रीले बताए । बिहीबारको मन्त्रिपरिषद्को बैठकमा संक्रमण नदेखिएका केही जिल्लामा उच्च सतर्कता अपनाएर केही व्यवसाय तथा विकास निर्माणका काम सुचारु गर्न सकिनेबारे छलफल सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको अवस्था हेरेर मात्र नेपालमा लकडाउनबारे नेपालमा निर्णय हुन बताएका छन् । भारतमा पनि संक्रमण बढीरहेको छ । भारतमा २१ बैशाखासम्म लकडाउन लम्बाइएको छ ।
नेपालमा पछिल्लो चार दिनमा १८ जनामा संक्रमण देखिएको छ । संक्रमण तेस्रो चरणमा पुगेकाले जोखिम बढीरहेको स्वास्थ्यविज्ञहरुले बताएका छन् ।
उपत्यकामा चार जनामा संक्रमण देखिएकोमा सबै निको भइसकेका छन् । अत्याबश्यक बाहेक थप केही उद्योग चलाउन दिने सकिनेबारे छलफल अघि बढाइएको छ ।
पूर्ण रुपमा सुरक्षा अपनाएर एक सातापछि आन्तरिक उडान सुचारु गर्न लागिएको छ । लकडाउन लम्बिदै जाँदा अर्थतन्त्र चौपट हुँदै गएकाले अन्य देशमा जस्तै केही क्षेत्र खोल्न लागिएको छ । हालसम्म नेपालमा समुदाय तहमा संक्रमण नफैलिएकाले पनि केही क्षेत्र खोल्न सकिने सुझाव जनस्वास्थ्य अधिकारीको छ । उदयपुरमा समुदायमा देखिएपछि सानो समुदायभित्र मात्र देखिएकाले नियन्त्रण हुने स्वास्थ्य मन्त्रालयको आँकलन छ ।