काठमाडौं । नयाँ सत्तासमीकरण बनाउने सहमति भएको तीन दिनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस महामन्त्री गगन थापाबीच गोप्य कुराकानी भएको छ ।
कांग्रेसका कुनै पनि पदाधिकारीलाई थाहै नदिई उनीहरुबीच दुई घण्टा गोप्य कुराकानी भएको स्रोतको दावी छ । कांग्रेस सभापति देउवाकै साथमा रहेका गगन थापा र ओलीबीच के के कुराकानी भयो भन्नेबारेमा कुनै जानकारी बाहिर आएको छैन । तर गगन निकट रहेका नेताहरुले यसलाई निकै सकारात्मक भएको मानेका छन् ।
बेलाबेला ओलीको प्रशंसा गरेका गगन थापालाई राखेर देउवाले ओलीसँग आगामी सरकार निर्माण र संविधान संशोधनको बारेमा गोप्य छलफल गर्न अह्राएका थिए । त्यसअघि नेपाली कांग्रेसका महामन्त्री थापाले देशका महत्त्वपूर्ण विषयलाई सम्बोधन गर्न कांग्रेस र नेकपा एमालेबीच सहकार्य आवश्यक रहेको अभिव्यक्ति दिदै आएका थिए ।
गत वैशाखमा समुदायमा कांग्रेस अभियानअन्तर्गत हुलाकी राजमार्ग केन्द्रित ‘संवाद यात्रा’ का क्रममा कञ्चनपुरको बेलौरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशको समृद्धि र विकासका लागि ठुला दुई दल मिल्न जरुरी रहेको धारणा राखेका थिए ।
त्यसै क्रममा, के एमालेसँग मिलेर नयाँ गठबन्धन बनाउने कसरतमा कांग्रेस केन्द्रित भएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै महामन्त्री थापाले सरकार गठनका लागि नभई देशको महत्त्वपूर्ण विषयलाई सम्बोधन गर्न कांग्रेस र एमालेबीच सहकार्य आवश्यक रहेको बताएर कांग्रेस र एमालेको सहकार्यलाई सहयोगी भूमिका निभाएका थिए ।
यसअघि प्रचण्डको क्याबिनेट मन्त्री भएका थापालाई ओलीको क्याबिनेटमा समेत पठाउने चर्चा चलिरहेको अवस्थामा उनीहरुको भेटलाई अर्थपूर्ण मानिएको छ ।
थापाले एमालेसँगको सहकार्यलाई मूर्तरुप दिन खेलेको भूमिकाप्रति देउवा खुशी भएपछि उनलाई साथमा लिएर ओलीसँग वार्ताका बसेका थिए । यो विषयमा कांग्रेसका केही पदाधिकारीलाई समेत जानकारी रहेको स्रोतको दावी छ । तर देउवाले गगनलाई साथमा लिएर ओलीसँग संवाद गरेको सुइको पाएका पूर्णबहादुर खड्का, धनराज गुरुङ र विश्व प्रकास शर्माले यो कुरालाई बाहिर ल्याउन चाहेका छैनन् ।
सभापति देउवाले उनीहरुलाई महत्व नदिएको कार्यकर्ताले थाहा पाउने भएकाले पनि बाहिर ल्याउन नचाहेको स्रोतको दाबी छ । स्रोतका अनुसार, देउवा र ओलीबीचको वार्तामा महामन्त्री थापाले कांग्रेसको धारणाबारे ब्रिफिङ गरेका थिए ।
देउवाले यति महत्त्वपूर्ण भेटमा आफ्नै समूहका नेता पूर्णबहादुर खड्कालाई अविश्वास गर्नुले उनीहरूबीच दूरी निकै बढेको कांग्रेस नेताहरू बताउँछन् । आफूलाई देउवापछिको सभापतिको रूपमा हेरेका खड्काका लागि यो घटना एक झट्का भएको नेताहरूको भनाइ छ ।
यसअघि प्रचण्ड सरकारमा खड्का उपप्रधानमन्त्री तथा रक्षामन्त्री हुँदा नक्क्ली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाणलाई पक्राउ गर्नबाट रोक्न नसक्नु खड्काको कमजोरी रहेको भन्दै पार्टीभित्र आलोचना हुने गरेको छ । पार्टीमा बालकृष्ण खाण शक्तिशाली नेता भएकै कारण उनलाई पक्राउ गर्नबाट कोही कसैले पनि रोक्न चाहेनन् । खाण प्रकरणबाट खड्कालाई कांग्रेसका विशेष निर्णयहरुमा टाढा राख्न थालिएको स्रोतको दाबी छ ।