काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएर राम्रो काम गर्न सक्ने अवस्था नरहेको टिप्पणी गरेका छन् ।
सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद समेत रहेका पौडेलले ओलीलाई दुई वटा अवसर प्राप्त भएपनि गरेका राम्रा कामको सूची बनाउनसक्ने स्थिति नरहेको बताएका हुन् ।
उनले अध्यक्ष ओली जीवन र राजनीतिको उत्तराद्र्धमा रहेको भन्दै देश र जनताको लागि काम गर्न आग्रह गर्दै भने, “केपी ओलीज्युलाई दुई वटा अवसर प्राप्त भएको छ । दुई तिहाईको प्रधानमन्त्री हुनुभयो, त्यो भन्दाअघि पनि प्रधानमन्त्री हुनुभयो । प्रधानमन्त्री भएर देशले के प्राप्त गर्यो भनेर उहाँले गरेका राम्रा कामको सूचि बनाउनसक्ने स्थिति छैन । उहाँ जीवनको र राजनीतिको पनि उत्तरार्धमा हुनुहुन्छ । परिस्थितिले उहाँलाई फेरि नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएको छ ।”
सांसद पौडेलले अघि भने, “झन्डै दुई तिहाईले समर्थन गरेको प्रधानमन्त्री उहाँ हुँदै हुनुहुन्छ । म के आग्रह गर्न चाहन्छु भने यो पटक प्रधानमन्त्री हुँदा देशको लागि हुनुस्, जनताका लागि हुनुस् । गुटको लागि नहुनुस् । पछिल्लो पटक प्रधानमन्त्री हुँदा यो यो गर्नुभयो भनेर भन्नेसक्ने, थाहा पाउने गरी नेतृत्व गर्नुस् ।”