काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघिको विधानमा महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष हुने प्रावधान थियो ।
सो विधानलाई महासङ्घको कार्य समितिले सोमबार सर्वसम्मत संशोधन गरेपछि अब महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट छानिने भएको हो । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अबदेखि प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको जानकारी दिए ।
यो प्रावधानले सक्षम व्यक्तिलाई प्रत्यक्ष रुपमा अध्यक्ष लड्न सहयोग पुग्ने ढकालले बताए । यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष भएपछिको अर्काे एक कार्यकालपछि लागू हुने बताइएको छ ।
संशोधित नयाँ विधानमा वरिष्ठ उपाध्यक्ष दुई जनाको व्यवस्था गरिएको छ भने हाल एक महिला उपाध्यक्ष रहेकामा थप एकजना महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ । महासङ्घको कार्यसमितिबाट संशोधित उक्त विधानलाई आगामी मङ्सिर मसान्तभित्र महासङ्घको विशेष साधारणसभाले पारित गर्ने महासङ्घले जनाएको छ ।