काठमाडौं । शेरबहादुर देउवालाई अचानक धोका दिएर पाँचै वर्ष केपी शर्मा ओलीको सहयोगमा प्रधानमन्त्री बन्छु भन्ने सोचेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै अस्थिर स्वभावका कारण अन्ततः ओलीबाटै धोका खाए ।
राजीनामा बोकेर बालुवाटार पुगेका एमाले मन्त्रीहरू सँग ‘कसैलाई माया गर्नु एउटा भूल रहेछ मैले’ भनेर रोदन गर्नुको आत्मसमीक्षा प्रचण्डले गरेका छैनन् । एमालेकै उक्साहटमा प्रचण्डले ‘मसँग सरकार टिकाउने जादुमय छडी छ’ भन्दै सार्वजनिक रुपमा बालहठ देखाउँदै आए ।
ओली कस्ता व्यक्ति हुन् र उनीबाट कति पटक धोका खानु प¥यो भन्ने विगत प्रचण्डले बिर्सिए । २०७४ सालमा एमालेसँग आलोपालो प्रधानमन्त्रीको लिखित सम्झौता गरेर पनि नचेतेका प्रचण्ड कहिले चेत्ने हुन्, सबै आश्चर्यमा परेका छन् ।
प्रचण्ड राजनीतिका चतुर खेलाडी हुन्, त्योभन्दा चतुर ओली हुन् भन्ने कुरा प्रचण्डले बिर्सिदा ‘लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ पाँच बल्ड्याङ’ भन्ने अवस्थामा उनी पुगेका छन् । २०७९ को आम निर्वाचनमा नेपाली कांग्रेससँग पाँचै वर्ष आलोपालो सरकार सञ्चालन गर्ने सहमति गरेका प्रचण्ड जब देउवाको हातबाट फुत्किएर ओलीको हातमा पुगे, त्यही दिनदेखि उनको दशा सुरु भयो ।
ओली चाहन्थे, प्रचण्डलाई प्रयोग गरेर कांग्रेससँगको गठबन्धन भत्काउने । त्यसैले ०७९ पुस १० गते ओलीको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बने । त्यसको चार महिनापछि ०७९ चैत ६ गते ओलीलाई धोका दिएर प्रचण्ड पुनः कांग्रेसमै फर्किए । पुस १० गते किन ओलीकहाँ पुगे ? चैत ६ गते फेरि किन कांग्रेसमा फर्किए ? त्यसको तार्किक जवाफ त छैन, तै पनि प्रचण्ड भन्ने गर्छन् ‘म नमर्दासम्म उथलपुथल भइरहन्छ ।’ नभन्दै अहिले ‘तावाबाट उम्केको माछो भुङ्ग्रो’मा परे ।
यो सबै दृश्यलाई ओलीले बालकोटको बार्दलीबाट हेरिरहेका थिए । २०८० फागुन २१ गते मौका पाउना साथ ओलीले वाम गठबन्धनको नाममा कांग्रेससँगको गठबन्धन फोड्न सफल भए । प्रचण्ड अस्थिर स्वभावका नभएको भए उनी पटक पटक ओलीको जालमा पर्ने थिएनन् ।
ओली के चाहन्थे, अब प्रचण्डलाई देउवाले कहिल्यै पनि नपत्याउने गरी पछार्नु पर्छ । र, भिजेको बिरालो जस्तो बनाएर चुट्नुपर्छ । नभन्दै अहिले प्रचण्ड असार २८ गते विश्वासको मत लिने भनेर ‘म्याउँ’ गरिरहेका छन् ।
अब जतिसुकै टाउको फोडे पनि प्रचण्डलाई कांग्रेसले विश्वास गर्ने छैन । फागुन २१ गते कांग्रेसले धोका खाएकै दिनदेखि प्रचण्डलाई सत्ताबाट झार्ने रणनीति बुनिरहेको थियो । कांग्रेसका नेता शेखर कोइरालाले अब एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्छ भन्दै थिए । अन्ततः कोइरालाले भनेजस्तै कांग्रेस–एमालेको सरकार बन्ने वातावरण बन्यो ।
फागुन २१ गते प्रचण्ड वाम गठबन्धनको जालोमा परेदेखि नै यो सरकार तीन महिना पनि टिक्दैन भनेर दृष्टिले समाचार विश्लेषण गरेको थियो । तर, नेताहरू अल्छी भए । सञ्चार माध्यममा आएका समाचार, विश्लेषण पढ्न छाडे । नभन्दै, बजेट भाषणपछि एमालेले असन्तुष्टिको स्वर बिस्तारै संसदमा उठाउन थाल्यो । प्रचण्ड बिच्केलान् कि भनेर मनै नपरे पनि एमालेले बजेट पास ग¥यो । प्रचण्ड ढुक्क भए । एमालेको भित्री षडयन्त्र प्रचण्डले बुझ्नै सकेनन् ।
प्रधानमन्त्री मातहत राष्ट्रिय अनुसन्धान विभाग छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाभित्र ‘गोप्य’ सूचना संकलन गर्ने विभाग छ । तर, कुनै पनि निकायले प्रचण्ड धरापमा पर्दैछन् भन्ने सूचना उनलाई दिएनन् । जे दिए, झुटो विवरण दिए । त्यसलाई पत्याउदा, प्रचण्डले नपत्याउने खोलाले बगाउँछ भनेझैँ ओलीले उनलाई कहाँ पुर्याइसके भन्ने पत्तो नै पाएनन् ।
सबैलाई सम्झना होला, पोखरा पुगेर ओलीले भनेका थिए, ‘अझै २० वर्ष बाँच्छु । जुँगा, दाह्री कालो उम्रिन थाल्यो । २० वर्षे जोस छ ।’ उनको यो भनाइमा अधिनायकवादी सोच र महत्त्वाकाङ्क्षा झल्किन्छ । नयाँ गठबन्धनमा दुई वर्ष आफू प्रधानमन्त्री बन्ने र त्यसपछि देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने सहमति त भएको छ । तर, २० वर्षसम्म शासन गर्ने महत्त्वाकाङ्क्षा बोकेका ओलीले सजिलै सत्ता हस्तान्तरण गर्लान् र ? शंकै छ ।
आजको भोलि त के के भइसक्यो, दुई वर्षपछि ओलीले सत्ता छाड्लान् र प्रधानमन्त्री बनुँला भन्ने देउवाको सोझोपन ‘झर्ला र खाम्ला’जस्तै हो । नमरेसम्म सत्तामा बस्ने आकाङ्क्षाले ओलीले दुई तिहाइको संसद् विघटन गरे । यदि, सर्वोच्च अदालतले संसद् पुनर्स्थापना नगरेको भए के अवस्था हुन्थ्यो ?, त्यतातिर फर्किएर कसैले सोचेका छैनन् । सर्वोच्चले पूर्णविराम लगाएको यात्रा अब ओलीबाट सुरु हुँदैछ ।
फागुन २१ गते वाम गठबन्धनको नाममा बनेको प्रचण्ड सरकार अचानक फेरबदल हुनुको पछाडि कुनै राजनीतिक कारण देखिदैन । यसबीच, ओली र प्रचण्डको भेटघाट बाक्लै थियो । कहिलेकाहीँ ओलीको चित्त दुखाउनु हुन्न भनेर प्रचण्डले आफूनिकट मन्त्रीलाई भन्दै आएका पनि थिए ।
ओलीको चित्त बुझाउन आफू भारत भ्रमणमा जानुअघि भारतलगायतका देशका राजदूत परिवर्तन गरेकै थिए । राजदूत विनाको देशमा किन भ्रमण गरेको भनेर प्रचण्डले आलोचना खेपेकै थिए । त्यसमा बरु कांग्रेसले चित्त दुखाएको थियो होला । धितोपत्र बोर्डको अध्यक्ष ओलीले भनेकै सन्तोषनारायण श्रेष्ठलाई बनाउने कसम पनि प्रचण्डले खाएकै थिए । तर, प्राविधिक कारणले मात्र अन्तर्वार्ता स्थगित भयो । तै पनि गर्छु भन्दाभन्दै ओली किन रिसाए उनलाई थाहा भएन ।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा अर्बौँ रुपैयाँको चलखेल भइरहेको सूचना प्रचण्डले पाएकै थिए । तर, ‘खाए पनि खाओस्’ भनेर प्रचण्डले अर्थमन्त्री वर्षमान पुनलाई प्रक्रिया पुर्याएर श्रेष्ठलाई अध्यक्ष बनाउन बारम्बार निर्देशन दिएकै थिए ।
गत सोमबार बालुवाटार ‘बार्दली’मा भएको भेटमा पनि ओलीलाई त्यो बचन प्रचण्डले दिएका थिए । ओलीलाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा किन बढी चासो पर्याे होला भन्ने भित्री कुरा पनि प्रचण्डले बुझेकै थिए । त्यसमा अर्बौँको कमिसनको चलखेलको रिपोर्ट पनि उनी कहाँ पुगेको थियो । तर पनि पार्टी चलाउन होला भन्ठानेर पटक पटक श्रेष्ठलाई नै अध्यक्ष बनाउने हो, चाँडो प्रक्रिया थाल्नुस् भनेर अर्थमन्त्रीलाई भनेको छु भनेर ओलीलाई आश्वस्त पारेकै थिए ।
प्रचण्डको ‘मुड’ बुझ्न गत सोमबार बालुवाटार पुगेका ओलीको अनुहारमा असन्तुष्टिको कुनै झल्को थिएन । बरु ओलीले सरकार राम्रोसँग चलाउन विज्ञ समूह बनाउने सुझाव ल्याएका थिए । त्यसलाई पनि प्रचण्डले स्विकार्दै–हुन्छ, को–को राख्ने हो विज्ञको नाम दिनुहोला भनेकै थिए ।
कुराकानी चल्दै गर्दा ओलीले ‘कम्युनिष्ट आन्दोलन कमजोर भएकोले सबै कम्युनिष्ट मिल्नुको विकल्प नभएकाले मिसन ८४ सम्म यही सरकारलाई टिकाएर दुई तिहाइको सरकार बनाउने प्रस्ताव गरेका थिए । त्यसबाट हौसिएका प्रचण्डले ‘हुन्छ हुन्छ कति राम्रो प्रस्ताव ल्याउनुभयो । मैले त ०७४ सालमै मिलौँ भनेर मिलेकै हो । दुई तिहाइ आएकै हो । सबै कम्युनिष्ट पार्टी मिल्ने कुरामा मेरो त जहिले पनि सकारात्मक दृष्टिकोण छ’ भनेर जवाफ दिएका थिए ।
बालुवाटार बार्दलीमा प्रचण्डको कुरा गम्भीरताका साथ सुनिरहेका ओलीले फेरि सम्झाउँदै भने–विगतका गल्ती कमजोरीबाट शिक्षा लिएर अगाडि बढ्ने हो, पुराना कुरा बिर्सिनुस् । नयाँ ढंगबाट कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ, त्यसको जिम्मा तपाईँ र मेरो हो । ओलीको कुरा सुनेर कुम हल्लाउँदै निकै उत्साहित भएका प्रचण्डलाई उठ्ने बेला ओलीले भने–‘केही कुराको चिन्ता नगर्नुस्, स्वर्ग नर्क जहाँ गए पनि सँगै जाने हो ।’
त्यसैदिन बेलुका १०ः ३० बजे प्रचण्डको ‘मुड’ बुझ्न ओलीले रघुवीर महासेठलाई बालुवाटार पठाए । प्रचण्डले राजनीतिक उथलपुथलबारे अलिअलि गाइँगुइँ सुनेको कुरा महासेठलाई सुनाए । महासेठले भने, ‘कहाँ त्यस्तो हुन्छ र, म भर्खर बालकोटबाट आएको छु । ओलीले ढुक्कसँग सुत्नु भनेर सन्देश पठाउनुभएको छ । तपाईँलाई शंका लागे ओली र तपाईँले भोलि बिहान संयुक्त विज्ञप्ति जारी गर्नुस् । त्यसका लागि एमाले तयार छ ।
प्रचण्डलाई थप ढाडस दिँदै महासेठले भने– बजारमा के के हल्ला हुन्छ, हुन्छ । त्यस्तो कुरा पत्याएर प्रधानमन्त्री हिँड्नुहुन्छ ? मिडियाले जे पनि लेख्छ सबै कुरा पत्याएर हुन्छ ? त्यसपछि प्रचण्ड मनमा अनेकौँ कुरा खेलाउँदै बेडरुममा पुगेर सूचना संकलन गर्दै थिए । रातको १२ः १५ बजे नयाँ गठबन्धन बनाउने कांग्रेस–एमालेबीच सहमति भएको सूचना प्रचण्डले पाएपछि प्रचण्ड छाँगोबाट खसे । रातभर सुत्नै सकेनन् । कहिले माधवकुमार नेपाललाई फोन गरेर ‘डिस्टर्व’ गरे त कहिले झलनाथ खनाललाई… ।
भोलिपल्टको माओवादी केन्द्रको पदाधिकारी बैठकमा ‘हिजोसम्म स्वर्ग, नर्क जहाँ गए पनि सँगै जाउला भनेका थिए, ओली त एक्लै स्वर्ग गएछन्’ भनेर ब्रिफिङ गरे ।
वास्तवमा अचानक सत्ता समीकरण परिवर्तन हुनुमा असार १४ गते बेचन झा पक्राउ पर्नु मुख्य कारण हो । बेचन झाले नक्कली भुटानी शरणार्थी काण्डमा आफूलाई पोल्यो भने पक्राउ पर्ने डरले असार १५ गते देउवालाई लिएर आरजु राणा बालकोट पुगिन्, त्यही दिन सत्ता समीकरण परिवर्तन गर्ने सहमति बन्यो ।
भित्री रहस्यको कुरा के छ भने देउवालाई भड्काउन ओलीले नै गृहमन्त्री रवि लामिछानेलाई बेचन झा पक्राउ गर्न आदेश दिएका थिए । प्रचण्ड सरकारका गृहमन्त्री भए पनि लामिछाने बालकोटको निर्देशनमा चल्ने हुँदा प्रचण्डलाई धोका भयो । आफूले गृहमन्त्रीबाट राजीनामा दिएपछि फेरि प्रचण्डले आरजुलाई कारबाही गर्लान् भनेरै नाटकीय रुपमा राजीनामा बोकेर आएका गृहमन्त्री लामिछाने राजीनामा नदिएरै फर्किए । यो पनि ओलीकै रणनीति थियो ।