काठमाडौं । नेपालको पहिलो विक्रम सम्बतमा आधारित मोबाइल एप नेपाली पात्रोले गुगल प्लेस्टोरमा १ करोड डाउनलोड पूरा गरेको छ । एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको नेपाली पात्रोेको एपले गुगल प्ले स्टारमा १ करोड डाउनलोड पुरा गरेको हो ।
नेपाली तिथि, मिति, पात्रो, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दू उत्सव÷पर्वहरू, विभिन्न जातजाति, भाषाभाषिका धर्म, आस्था तथा संस्कृतिलगायतका सम्पूर्ण विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारी दिने नेपाली पात्रो नेपालकै पहिलो डिजिटल पात्रो हो ।
नेपाली पात्रोमामा रेडियो, समाचार (यो गज्जब छ), वैदिक पात्रो, राशिफल, मूल्य सूची, ज्योतिष, राशिफल जस्ता आम जीवनलाई आवश्यक पर्ने दर्जन बढी सुविधाहरू समावेश छन् । नेपालका लोकप्रिय समाचार स्रोतबाट निरन्तर समाचार अपडेट गर्ने नेपाली पात्रो गुगल प्ले स्टोरमा ४.३ स्टार रेटिङ्गसाथ लोकप्रिय भएको देखिन्छ ।
नेपालका चार सयभन्दा बढी लोकप्रिय रेडियोहरूबाट सूचना, जानकारीमूलक तथा मनोरञ्जनात्मक सामग्री सुन्न सकिने नेपाली पात्रोका आशिष कार्कीले जानकारी दिए । विनिमयदर, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ आदिजस्ता दैनिक आवश्यकताका फिचरका कारण एपमा सक्रिय प्रयोगकर्ताको संख्या पनि उल्लेख्य छ ।
दैनिक १० लाख बढी सक्रिय प्रयोगकर्ता रहेको एपमा मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ करोड माथि छ। नेपालमा पहिलो पटक, नेपाली रेडियोबाट प्रसारित हुने कार्यक्रमहरू नेपाली पात्रोमा श्रोता मित्रहरूको समय अनुसार सुन्न सकिन्छ ।
सम्बन्धित रेडियोको पछिल्लो ४८ घण्टाका कार्यक्रमहरू नामसहित अडियोमा उपलब्ध हुने जानकारी नेपाली पात्रोले दिएको छ। यसको लागि, नेपाली पात्रो डाउनलोड गरेर रेडियो फिचरमा सम्बन्धित रेडियोको पेजमा छुटेका तथा प्रसारित कार्यक्रमहरूको नाम तथा प्रसारण समय उपलब्ध छ ।
नेपाली पात्रोमा देशका प्रमुख १५० भन्दा बढी अनलाइन न्युजपोर्टल र ३५० भन्दा बढी रेडियोसमेत जोडिएका छन् । नेपाली पात्रो नेपालको सबभन्दा धेरै सञ्चार नेटवर्क भएको नेपाली एप्लिकेसन हो । हालै सर्वाधिक लोकप्रिय केवल डिस्ट्रिब्यूसन नेटवर्कट NetTV मा पनि नेपाली पात्रोमा उपलब्ध रेडियो सुन्न मिल्ने सुविधा सार्वजनिक गरिसकेको छ ।