धोकाको परिणाम धोका नै हुन्छ । अहिले नेपालको राजनीतिमा जे दृश्य देखिएको छ, त्यो स्वाभाविक परिणाम हो । राजनीति गर्ने नेताहरुमा हुनुपर्ने गुण भनेको स्वच्छ छवि, उँचो नैतिकता र दूरदर्शिता हो । यी गुण नहुने नेता जतिसुकै ठूलो पदमा जतिपटक पुगे पनि जनताले पाउने भनेको धोका नै हो ।
२०७४ सालमा नेपाली जनताले नेकपालाई दुईतिहाइ मत दिए । केपी शर्मा ओलीले संसद् विघटन गरेर जनतालाई धोका दिए । त्यसपछि २०७९ को निर्वाचनमा जनताले एमालेलाई सजाय दिएर दोस्रो दलमा झारिदिए । नेपाली कांग्रेस पहिलो दल बन्यो ।
संसद्मा कसैको पनि बहुमत नआएपछि निर्वाचनमा गरिएको प्रतिबद्धताअनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी मिलेर सरकार बनाउने निर्णय गरे । राजनीतिक स्थिरता र आर्थिक विकासका लागि सरकारको नेतृत्व आलोपालो गर्ने सहमति बन्यो ।
त्यो सहमतिबमोजिम कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने थियो, तर तेस्रो दल माओवादीका अध्यक्ष प्रचण्ड कांग्रेसलाई धोका दिएर एमालेको समर्थनमा प्रधानमन्त्री बने । प्रधानमन्त्री भएको ३ महिना बित्दा नबित्दै फेरि एमालेलाई धोका दिएर पुरानै गठबन्धनमा फर्किए । पुरानो गठबन्धनमा फर्किएको १३ महिनापछि फेरि कांग्रेसलाई धोका दिएर एमालेसँग गठबन्धन गर्न पुगे ।
अहिले कांग्रेस, एमाले दुवैले मिलेर प्रचण्डलाई धोका दिए । यो गलत राजनीतिक अभ्यासको सुरुवात थियो । प्रचण्डको यही स्वभावलाई बुझेर उनलाई ‘घर न घाट’को बनाउन ओली सफल भए । वास्तवमा ओलीको रणनीति माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्न नदिनु थियो । त्यसमा ओली सफल भए । प्रचण्डबाट नेपाललाई धोका भयो ।
यदि, प्रचण्ड आफैँप्रति इमान्दार भइदिएको भए यति धेरै धोका उनले अरुलाई दिने थिएनन् । राजनीतिमा धोकालाई बेइमानी पनि भन्न सकिन्छ । संसद्मा तेस्रो दल भएर पनि पालैपालो कहिले एमालेलाई त कहिले कांग्रेसलाई धोका दिएका प्रचण्डको राजनीतिक जीवन नै समाप्त गर्नेगरी अहिले कांग्रेस, एमालेले उनलाई धोका दिएका छन् । अन्ततः पाँचै वर्ष एमाले–कांग्रेसलाई ‘उल्लु’ बनाएर प्रधानमन्त्री बन्ने उनको सपना सोम शर्माको कथामा परिणत भयो ।
भनिन्छ, मानिसलाई एकपटक ‘उल्लु’ बनाउन सकिन्छ, पटक–पटक सकिन्न । अब प्रचण्डका लागि प्रधानमन्त्री बन्ने सबै ढोका बन्द भयो । सम्भवतः उनको जीवनमा यो नै अन्तिम प्रधानमन्त्री हो । प्रधानमन्त्री बन्न बहुमत चाहिन्छ, यो जीवनमा उनको पार्टीले कहिले पनि बहुमत ल्याउन सक्दैन । सत्ताको लोभमा उनले भुइँको टिप्न खोज्दा गोजीको पनि गुमाए ।
यदि, प्रचण्ड आफैँप्रति इमान्दार भइदिएको भए यति धेरै धोका उनले अरुलाई दिने थिएनन् । भनिन्छ, मानिसलाई एकपटक ‘उल्लु’ बनाउन सकिन्छ, पटक–पटक सकिन्न । अब प्रचण्डका लागि प्रधानमन्त्री बन्ने सबै ढोका बन्द भयो । सम्भवतः उनको जीवनमा यो नै अन्तिम प्रधानमन्त्री हो ।
अब के होला ? कांग्रेस र एमालेको गठबन्धन पनि बढीमा एक वर्ष टिक्ने हो । गठबन्धन भन्ने कुरा विश्वासमा अडेको हुन्छ । देउवा र ओलीको स्वभाव विपरीत छ । देउवा बाहिर सोझो देखिए पनि भित्री चलाख छन् । ओली बाहिर जस्तो देखिए पनि भित्री धुर्त छन् । उनले जे बोल्छन्, त्यो गर्दैनन् । जे बोल्दैनन् त्यो गर्छन् ।
कांग्रेससँगको गठबन्धन गर्दा जेका लागि भनेर उनले हस्ताक्षर गरेका छन्, विगतको उनको चरित्र हेर्दा त्यसको पालना हुन्छ भन्ने कुरामा शंका छ । २०७४ सालमा माओवादीसँग गठबन्धन गर्दा पनि आधा आधा कार्यकाल भनेर प्रचण्डसँग लिखितै सहमति गरेका थिए । अन्ततः धोका मात्र भएन, प्रचण्ड प्रधानमन्त्री बन्लान् भनेर संसद् नै विघटन गरिदिए । ओलीको चरित्र आफ्नो स्वार्थपूर्ति भएपछि सहयात्रीलाई धोका दिनु हो । अब ढिलोचाँडो ओलीबाट देउवाले धोका खान बाँकी छ ।
ओलीको भित्री चाहना एमालेको बहुमतको सरकार हो । मुखले मिसन ८४ भने पनि त्यो भन्दा अगाडि नै संसद् विघटन गरेर मध्यावधिमा जाने उनको रणनीति हो । देउवासँग आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमति गरेका उनले आफ्नो कार्यकाल समाप्त हुँदा नहुँदै मध्यावधि ठोक्न सक्छन् । त्यसपछि देउवा पनि हे¥याहे¥यै । धोकाको राजनीति धोकामै परिणत भएको दृश्य हेर्न करिव एक वर्ष कुर्नु पर्ला ।