काठमाडौं । कारबाहीमा परेका रास्वपाका नेता मुकुल ढकालले सभापति रवि लामिछानेमाथि सत्ता लिप्साको आरोप लगाएका छन् ।
पार्टीमाथि आएको संकट समाधानका लागि आफूले प्रस्ताव राख्दा सभापति लामिछाने नियोजित रुपमा लागि परेको दाबी गरेका हुन् । उनले बुधबार पत्रकार सम्मेलन गर्दै लामिछानेलेलाई पुष्पकमल दाहाल प्रचण्ड, केपी ओली र शेरबहादुर देउवाको शैली मन परेकाले आफ्नो कार्यशैलीमाथि प्रश्न उठाएको उल्लेख गरे ।
उनले लामिछाने अझै पनि संविधानको धारा ७६ (३) अनुसार देउवाको नेतृत्वमा सरकार बन्ला भनेर गृहमन्त्रीको पदमा बसिरहेको आरोप लगाए । पत्रकार सम्मेलनमा ढकालले भने, ‘अझै पनि उहाँ देउवाको सरकार बन्ला ७६ (३) भनेर कुरेर बस्नु भएको छ । त्यहीँ भएर सरकार छाड्नुभएको छैन । ओली, दाहाल, देउवाको शैली मन पर्नेलाई मेरो मन नपर्नु स्वभाविक हो ।’
ढकाले लामिछानेका सहयोगीले आफूलाई पटक पटक कुटपिट गर्न खोजेको आरोप लगाए । ‘मलाई पटकपटक दीपक बोहोराले पिट्न आए । म नरम भएर बसेको हो ।’
उनले आफूलाई केन्द्रीय सदस्यहरुले कडा रुपमा प्रस्तुत भइदिनुहोस् भनेपछि फरक शैलीमा प्रस्तुत भएको बताए । उनले भने, ‘मलाई केन्द्रीय सदस्यले पार्टी जोगाउन कडा भइदिनुहोस् । भनेर पटक पटक भनेकाले यो शैलीमा प्रस्तुत भएको हो ।’
उनले आफूलाई महामन्त्री र प्रवक्ताको पदबाट निलम्बनमा नपरेको दाबी गरे । आफू रवि लामिछानको क्लबबाट मात्रै निस्कासनमा परेको उल्लेख गरे ।
सभापति लामिछानेसँगकै सल्लाहमा समीक्षा प्रतिवेदनबारे सञ्चार माध्यममा बोलेको बताए ।
असार १९ गतेको केन्द्रीय समिति बैठकले महामन्त्री र प्रवक्ताबाट एक हप्ताका लागि निलम्बन गरेको रास्वपाले हिजोको बैठकबाट ढकाललाई साधारण सदस्य मात्रै बाँकी रहनेगरी सबै जिम्मेवारीबाट वर्खास्त गरेको थियो ।