Logo
Logo

आज अक्षय तृतीया मनाइँदै


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ, १४ वैशाख । प्रत्येक वर्ष वैशाखशुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान गरी खाएर मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने चलन छ ।

यस दिन गरेको स्नान, दान, ध्यान र जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो । गर्मीबाट शरीरलाई बचाउन दुवै चीजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ ।

“वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरे पनि धेरै फल प्राप्त हुने र यो अक्षय अर्थात् कहिल्यै नाश नहुने भएकाले आजको दिनलाई अक्षय तृतीया भनिएको हो, ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् पहिले शरीरको रक्षा गर अनि मात्र धर्मको साधना गर भन्ने उक्तिलाई पनि यसले चरितार्थ गर्छ”, उहाँले भन्नुभयो ।

आजका दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ । आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ ।

सत्ययुगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ । त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो । अक्षय तृतीयाकै दिन जन्मनुभएका परशुराम ऋषिको जन्मजयन्ती भने यस वर्ष शनिबार नै मनाइएको छ । अष्टचिरञ्जीवीमध्येका एक परशुराम तृतीयाका दिन बेलुकी जन्मिएको शनिबार बेलुकी तृतीया परेको समितिले जनाएको छ । परशुराम भगवान् विष्णुको छैटौँ अवतारका रुपमा जन्मनुभएको हो ।

मिथिलामा अक्षय तृतीया पर्व मनाइँदै

त्यसैगरी भोका र तिर्खाएका बटुवालाई शीतल मानिने जाँै र चनाको सातु एवं चिसो पानीको सर्बत खुवाउँदै आज महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय तृतीया पर्व मनाइँदै छ । वैशाख शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटुवालाई जौ र चनाको सातु, सक्खर र चिसो पानीमा बनाइएको गुलियो सर्बत खुवाउने हिन्दू मैथिल परम्परा छ । यसपालि भने कोभिड–१९ सन्त्रासले सडकयात्री कम देखिएका छन् ।

अक्षय तृतीया भनिने यस पर्वमा गर्मीले आकुल–व्याकुल भएका पथिक (बटुवा) लाई शीतलता दिने जौ र चनाको सातु, सक्खर, चिसो पानीमा बनाइएको सर्बत र मिष्ठान्न परिकार खुवाएमा अक्षय (कहिल्यै नाश नहुने) पुण्य प्राप्त हुने मैथिल (मिथिलावासीकोे) जनविश्वास रहेको छ । यस पर्वमा गरिब र अभाव भोगी, खेपिरहेकालाई सातु राखिएका थैला र सर्बत राखिएको घडासहितै दान गर्ने परम्परासमेत रहेको मिथिला परम्पराका ज्ञाता महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापीठ) का उपप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।

अक्षय तृतीया पर्वको वर्णन भविष्य पुराणमा उल्लेख छ । भगवान् शिव र देवी पार्वतीको विवाह भएको दिन पनि मानिने यो पर्वमा ब्राह्मण, कूलपुरोहित तथा गरिबहरुलाई स्वर्ण (सुन), शीतल खाद्य परिकार र वस्त्र दान गरे कहिल्यै घरको भण्डार खाली नहुने भविष्य पुराणमा उल्लेख रहेको बर्दिवास–२ का बासिन्दा कर्मकाण्डका ज्ञाता महेशकुमार झाको भनाइ छ ।

गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने भएकाले शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सक्खर र चिनीमा बनाइएको शीतल सर्बत र पुष्टिबद्र्धक अन्न जौको सातुको प्रयोगमा अक्षय तृतीया पर्वले जोड दिएको छ । सुुख र समृद्धिको प्रतीक हुनुका साथै यो पर्वले स्वास्थ्य सन्देश दिएको बर्दिवास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विधानचन्द्र झाको भनाइ छ । पर्वले मौसमअनुसार पुष्टिबद्र्धक भोजन गर्न सन्देश दिएसँगै दीनदुःखी र भोकाएका, तिर्खाएकालाई सेवा दिन नैतिक सन्देशसमेत दिएको पाका मैथिल बताउँछन् ।

पर्वमा कूलपुरोहित ब्राह्मणलाई पूजा गरेर वस्त्र, मिष्ठान्न खाद्य परिकार र दक्षिणा दिएर आपूm र परिवारले जीवनमा शीतलताको कामना गर्दै जौ, चनाको सातु र सर्बत खाएर यो पर्व समापन गरिने मैथिल परम्परा छ । भगवान् शिव र पार्वतीको विवाह भएको मानिने यो दिन नयाँ घरवास, नानीहरुको अन्नप्रासन र विवाहलगायतका शुभकार्यका लागि अर्को साइत हेर्न नपर्ने आम मैथिल मान्यता छ । (रासस)

प्रतिक्रिया दिनुहोस्