Logo
Logo

गाउँमा मान्छे बढेपछि खाद्यान्न जोहो गर्दै स्थानीय तह


- दृष्टि न्युज/संवाददाता

0
Shares

ओलढुंगा, १४ बैशाख । खाद्य संकट आउन नदिन ओखलढुंगामा स्थानीय उत्पादनको खाद्यान्न जोहो गर्न थालिएको छ । विभिन्न स्थानीय तहले शहरमा बस्नेहरु पनि बन्दाबन्दीमा गाउँ फर्किएकाले खाद्य संकट आउन सक्ने भन्दै स्थानीयस्तरमा उत्पादित कोदो, मकै, गहुँ, फापर, आलुलगायतका खाद्यसामग्री संकलन गर्न थालेका हुन् ।
खाद्य सामग्री अभाव हुन नदिन खिजीदेम्बा गाउँपालिका–४ खिजीकाती, सुनकोशी गाउँपालिका–७ र ८ च्यानमसहितका ठाउँमा स्थानीयस्तरमा उत्पादित खाद्यसामग्री जोहो गर्न थालिएको हो । खिजीकातीमा गाउँमै उत्पादन भएको मकै, धान, गहुँ, आलुलगायतका खाद्यसामाग्री वडा कार्यालयकै संयोजनमा सङ्कलन गर्न थालिएको छ । हुनेखानेहरुबाट किनेर हुँदा खानेहरुलाई राहतस्वरुप वितरण गर्ने लक्ष्य राखिएको वडाध्यक्ष कमलप्रसाद न्यौपानेले बताए ।
‘हिजो बूढाबूढी आमाबाले वर्षभरिलाई जोहो गरेको अन्न अहिले शहरबाट आएका तीन पुस्ते परिवारले सिध्याइसकेका छन् । तत्काल उत्पादन गरेर खाइहालौँ भन्ने सम्भावना छैन’, न्यौपानेले भने, ‘बाहिरबाट किनेर ल्याएको चामल र दालभन्दा गाउँमा फल्ने अन्न आलु निकै स्वस्थकर हुन्छ, त्यसैले गाउँमा खाद्यसङ्कट नहोस् भनेर किसानबाट खाद्यान्न सङ्कलन गरेर अभाव हुनेहरुलाई दिने योजना छ ।’ वडाले गाउँमा फलेको अन्नको समर्थन मूल्य तोकेर किसानसँग किन्न थालेको छ ।
किसानको बारीमा फलेको अन्नको मूल्य दिएर यतिबेला गाउँ फर्केका युवालाई गाउँमै कृषि पेशामा आकर्षित गराउन यस्तो योजना ल्याइएको वडाध्यक्ष न्यौपानेको भनाइ छ । ‘किसानलाई मल, बीउ, प्राविधिक सहयोग र अनुदानसमेतका कार्यक्रम ल्याएका छौँ । अब उत्पादनको मूल्यसमेत दिएपछि युवाहरु गाउँमै बसेर कृषिमा आत्मनिर्भर हुनुपर्छ’, न्यौपानेले भने, ‘बन्दाबन्दीमा फर्केका युवा उन्नत कृषि तथा पशुपालनमा लागेमा गाउँपालिकले आगामी वर्षको बजेट कृषि र पशुपालनमा केन्द्रित गरेर ल्याउनेछ ।’
सुनकोशी गाउँपालिकाको च्यानममा पनि स्थानीय हलेसी दर्शन कृषि सहकारी संस्थामार्फत खाद्यसामग्री जोहो गर्न थालिएको छ । कोरोना भाइरसको महामारीका बेला सबैतिर खाद्यसामग्री आपूर्तिमा समस्या भइरहेको र बन्दाबन्दीमा लम्बिने अवस्था आए पनि गाउँमा भोकमरीको समस्या नहोस् भनेर सहकारीमार्फत गाउँभरिको खाद्यसामग्री किनेर संकलन गरिरहेको सहकारीका अध्यक्ष नवीनकुमार कटवालले बताए । उनका अनुसार सहकारीले विभिन्न दाताहरुबाट सहयोग प्राप्त रकमबाट अन्न जोहो गरेको हो ।
सहकारीले संकलन गरेको खाद्यसामग्री भोकमारीबाट पीडित परिवारलाई स्थानीय सरकारमार्फत उपलब्ध गराउने योजना बनाइएको छ । सुनकोशी गाउँपालिका वडा नं ७ र ८ का दुवै वडाको निर्णयअनुसार निःशुल्क राहतस्वरुप वितरण गरिने वडा नं ८ का वडाध्यक्ष गुणराज भट्टराईले जानकारी दिए ।
साविकको च्यानम गाउँ विकास समितिका अतिविपन्न परिवारलाई स्थानीय उत्पादनको अन्न सहयोग गरिने उनको भनाइ छ । ‘हुलकाहुल मानिस गाउँ आएका छन् । खेतबारी बाँझो छ । किनेर खाएर कहिलेसम्म चल्छ ?’, उनले भने, ‘आधुनिक शैलीमा परम्परागत खेती गर्ने आफ्नै बारीमा धान कोदो फलाएर खाने अभियानमा लागेका छौँ । कसैलाई पनि अनिकाल लागेर मर्न दिँदैनौँ ।’ च्यानमका किसानलाई अन्न, मासु र दूधमा आत्मनिर्भर बनाउन गत वर्षदेखिनै दुग्ध चिस्यान केन्द्र र अदुवा प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको थियो ।
च्यानममा कृषक र जनप्रतिनिधिसहितका सरोकारवाला बसेर स्थानीय उत्पादनको खाद्य सामाग्रीको मूल्य निर्धारण गरिएको छ । कोदो, मकै, गहुँ, फापर र अटेमार्सी जातको धानको प्रतिपाथी रु १५०, मकवानपुरे धान प्रतिपाथी रु १०० निर्धारण गरिएको छ । गाउँमा उत्पादन हुने आलुलाई प्रतिपाथी रु १०० दिने निर्णय गएको छ ।
सुनकोशी गाउँपालिकाले कृषिमा परनिर्भरता हटाउने योजना अगाडि बढाएको छ । स्थानीय किसानले उत्पादन गरेका खाद्यसामग्री संकलन गर्ने अभियान गाउँपालिकाभरि रणनीतिकरूपमा अगाडि बढाइएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए । ‘गाउँमा फलेको जे खाएपछि स्वस्थ छ, र सस्तो पनि छ तर किसानले खान पुग्ने मात्रै होईन बेच्न पुग्नेगरि उत्पादन गर्नुपछ’, अध्यक्ष अधिकारीले भने, ‘बजारको जिम्मा स्थानीय सरकारले लिन्छ । अब विस्कुट, चाउचाउ र चामल बोकेर गाउँमा आउने ट्रकमा गाउँको अन्न र तरकारीले भरेर फर्काउनुपर्छ ।’ रासस

प्रतिक्रिया दिनुहोस्