Logo
Logo

बैशाखभरी लकडाउन जारी रहने, केही क्षेत्रलाई सहज बनाउने तयारी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १४ बैशाख
१६ बैशाखपछि कृषि तथा उत्पादनसँग जोडिएका उद्योग सञ्चालनलाई सहजता दिन सकिने निष्कर्ष कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले निकालेको छ । शनिबार बसेको समितिको २१ औं बैठकले १६ बैशाखपछि पूर्ण स्वास्थ्य सुरक्षा अपनाउन सकिने क्षेत्रलाई सहज बनाउन सकिने निर्णय गरेको छ । यद्यपी यससम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ । यसबारे निर्णय गर्न आज दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

समितिका एक मन्त्रीका अनुसार बैशाखभरी लडकाउन कायमै हुने निश्चित छ । समितिले २ जेठसम्म राष्ट्रिय/अन्तर्राष्ट्रिय उडान बन्दलाई निरन्तरता दिने निर्णय समेत गरेको थियो । संक्रमणको जोखिम नदेखिएका केही जिल्लामा सामाजिक दुरी कायम हुने गरी कृषि र त्यससँग सम्बन्धित व्यवसाय तथा अन्य उत्पादन क्षेत्रलाई खुला गर्न सकिनेबारे छलफल भएको हो ।

कृषि उत्पादन खेर गइरहेको तर बजारमा अभाव हुँदै जान सक्ने भएकाले ती क्षेत्र सञ्चालनमा लचकता अपनाउन लागिएको हो । कुन कुन क्षेत्रमा कसरी सहज बनाउन सकिन्छ भन्ने बारे प्रतिवेदन दिन मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदललाई जिम्मेवारी दिन भनिएको छ । सो प्रतिवेदन अध्ययन गरेर मन्त्रिपरिषद्को बैठकले यसबारे निर्णय गर्ने छ । आइतबार मन्त्रिपरिषद्को बैठक बस्ने तयारी । सरकारले लम्बाएको लकडाउन सोमबार बेलुकाबाट सकिदै छ । समितिले कम्तीमा एक साता लकडाउन र सीमा बन्द लम्बाउन समेत सिफारिस भएको छ । जेठको पहिलो सातासम्म देशव्यापी रुपमै लकडाउन नहट्ने निश्चित रहेको एक मन्त्रीको भनाई छ । विश्व स्वास्थ्य संगठनले संक्रमण पूर्ण रुपमा नियन्त्रणमा नआईकन लकडाउन खुला नगर्न सबै देशलाई चेतावनी दिदै आएको छ ।

समितिका सदस्य सचिव नारायण प्रसाद बिडारीका अनुसार आर्थिक क्षेत्रलाई सहज बनाउन सकिनेबारे शनिबार छलफल भएको हो । ‘विश्व स्वास्थ्य संगठनले पनि अति जोखिमबाट नेपाललाई कम जोखिकमा राखेको छ । जसकारण केही क्षेत्रमा सहज बनाउने भन्ने छलफल भएको हो ।’ उनले भने,‘ कृषि र खाद्यान्न उत्पादनसँग सम्बन्धित क्षेत्रलाई सहज बनाउन सकिने कुरा भएको छ,त्यसका लागि मापदण्ड बनाएर कार्यान्वायन हुन सक्नेछ । तर, यसबारे मन्त्रिपरिषद्बाटै निर्णय हुनुपर्छ ।’ स्रोतका अनुसार उपत्यकामा पनि पसलहरु सञ्चालनमा केही लचकता हुने सम्भावना छ । उपत्यकामा चार जनामा संक्रमण देखिएकोमा उनीहरु सबै निको भइसकेका छन् । तर, धेरै परीक्षण नभएको र संक्रमणका लक्षण समेत नदेखिने समस्या भएकाले जोखिम कायमै रहेको स्वास्थ्य मन्त्रालयको विश्लेषण छ ।
समितिले दुई साताअघि पूर्ण स्वास्थ्य सतर्कता अपनाएर केही उद्योग सञ्चालन गर्न दिने निर्णय गरेको थियो । भारतमा समेत कतिपय क्षेत्रलाई सहज बनाउँदै लगिएकाले नेपालमा पनि त्यही मोडालिटीअनुसार केही क्षेत्र खुलाउन लागिएको हो ।

सरकारको रणनीति सफल भएको दाबी
बैठकले लकडाउनको एक महिनाको अवधिको समिक्षा समेत गरेको छ । सरकारको सक्रियताकै कारण संक्रमण नियन्त्रणमै रहेको निष्कर्ष निकालिउको सचिव बिडारीले बताए । समयमै भारतसँगको सीमा बन्द, लकडाउन र कन्ट्याक्ट ट्रेसिङबाट संक्रमण नियन्त्रणमै रहेको उनको भनाई छ ।

‘उदयपुर बाहेकका जिल्लामा अहिलेसम्म संक्रमण विस्तार भएको अहिलेसम्म पाइएको छैन’ सचिव बिडारीले भने,‘अहिलेसम्म नियन्त्रणमकै अवस्थामा हुनु भनेको सफल हो ।’ हालसम्म नेपालमा ४९ जनामा संक्रमण देखिएको छ । जसमध्ये ११ जना निको भइसकेका छन् । संक्रमितमध्ये ३८ जना उदयपुरका छन् । संक्रमितमध्ये नेपालमा बसैको स्वास्थ्य अवस्था सामान्य छ ।
¥यापिड डाइग्नोष्टिक टेष्ट(आरडिटी) प्रविधिबाट नेपालमा करिब ४० हजारको परीक्षण गरिएको थियो । जून विश्वसनिय देखिएको छैन । पिसिआर टेष्ट भने १० हजार मात्र भएको छ । पिसिआर परीक्षण नै कम भएकाले अझै जोखिम कायमै रहेको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्