काठमाडौं । ललितपुरको लगनखेलस्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक सञ्जीव कुमार यादव पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार नापीका सर्वेक्षक यादव र आरबी लेखापढी सेन्टरका सञ्चालक राम्बाबु भुजेललाई चार लाख घुससहित पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेले विज्ञप्ति जारी गर्दै नापीका सर्वेक्षक यादव र घुस भुजेललाई चार लाख घुस रकमसहित पक्राउ गरिएको जानकारी दिए । जग्गा हालसाबिक गरी पुर्जा उपलब्ध गराइदिन सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
उनीहरूलाई घुस रकमसहित ललितपुर महानगरपालिका–१२ लगनखेलमा रहेको आरबी सेन्टरबाट नियन्त्रणमा लिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।