Logo
Logo

ढल्यो प्रचण्ड नेतृत्वको सरकार


2.9k
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गरको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

प्रधानमन्त्री दाहालद्वारा नेपालको संविधान २०७२ को धारा १०० को उपधारा (२) बमोजिम प्रस्तुत प्रस्तावमाथि बैठकमा भएको मतदानको परिणाम घोषणा गर्दै सभामुख देवराज घिमिरेले सभामा तत्काल कायम रहेको सङ्ख्याको बहुमतले सो प्रस्ताव अस्वीकृत भएको जानकारी गराए ।

मतदानमा कुल दुई सय ५८ सदस्यले भाग लिएकामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसदको गरी जम्मा ६३ मत परेको थियो ।

विपक्षमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनता समाजवादी पार्टीलगायत दलका गरी एक सय ९४ मत खसेको थियो । मतदानमा एक सांसद तटस्थ रहेका थिए ।

२०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधामन्त्री प्रचण्डले त्यसयता गठबन्धन फेरबदल गर्दै शुक्रबार पाँचौं पटक विश्वास मत प्रस्ताव पेस गरेका थिए । यसअघि विश्वास मत पाउँदै आएका प्रधानमन्त्री दाहालले यो पटक भने सत्ताबाट बहिर्गमन भएका छन् ।

गत असार १७ गते संसदका दुई ठूला दल कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्नेलगायत सहमति बनेको थियो । त्यसपछि एमालेलगायत दलले समर्थन फिर्ता लिँदै मन्त्रीहरूले पदबाट राजीनामा दिएका थिए ।

आजै कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने प्रक्रिया सुरू हुनेछ । केहि समयपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति निवास जाने एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्