काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक वर्ष ६ महिना १७ दिनमा सत्ताबाट बाहिरिएका छन् । २०७९ साल पुस ११ गते एमालेसहित ६ दलको समर्थनमा उनी तेस्रोपटक सिंहदरबार प्रवेश गरेका थिए ।
तेस्रो दलका रूपमा प्रधानमन्त्री बनेर चारपटकसम्म विश्वासको मत पाए पनि पाँचौ पटकमा भने प्रचण्ड चुकेका छन् । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने समझदारीपछि शुक्रबार प्रचण्ड विश्वासको मत लिन असफल रहे ।
पाँचौँ पटक विश्वासको मतका संसद फेस गरेका प्रचण्डको पक्षमा जम्मा २४.४१ प्रतिशत अर्थात् ६३ मत परेको थियो । २७५ सदस्यीय प्रतिनिधि सभामा उनले पहिलोपटक विश्वासको मत लिँदा सभामा कुल खसेको मतमध्ये ९९.२५ प्रतिशत मत पाएका थिए ।
कांग्रेससँग गठबन्धन गरेर २०७९ को चुनाव लडेका माओवादी अध्यक्ष प्रचण्ड गत वर्षको पुस १० गते एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । पुस २६ गते कांग्रेसहितका लगभग सबै दलको गरी २७५ मध्ये २६८ सांसदको विश्वासको मत पाउन उनी सफल भएका थिए ।
तर, केही महिना नबित्दै माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गर्यो । यसपछि एमाले भड्किएर सरकारबाट बाहिरिएको थियो । यसैले २०७९ चैत ६ गते प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिए । चैत ६ मा उनले १७२ सांसदको समर्थन पाए ।
प्रचण्ड कांग्रेससँग पनि एक बढी अडिएनन् । प्रचण्ड २०८० फागुन २१ गते कांग्रेस छोडेर एमालेसँग मिल्न पुगे । कांग्रेसले एक वर्ष थप प्रधानमन्त्री बन्ने आश्वासन दिने, मन्त्री फेरबदल गर्न तयार रहेको औपचारिक निर्णय गरे पनि प्रचण्ड रोकिएनन् ।
एमालेसँग मिलेपछि गत फागुन ३० गते प्रचण्डले तेस्रोपटक विश्वासको मत लिएका थिए । त्यतिखेर प्रचण्डले १५७ सांसदको समर्थन जुटाएका थिए । तर, उनले विश्वासको मत लिने श्रृंखला यत्तिमै रोकिएन । एमालेसँग मिलेर जसपा नेपाल फुटाएपछि प्रचण्डले फेरि विश्वासको मत लिनुपर्यो ।
गत जेठ ७ गते पुनः विश्वासको मत लिँदा उनले पहिलेजस्तै फेरि पनि १५७ सांसदको विश्वासको मत पाएका थिए । तर, तेस्रो दलका रूपमा दुई ठूला दलसँगको आलापालोमा प्रधानमन्त्री बन्दै डेढ वर्षमा चारपटक विश्वासको मत लिए । तर, सरकार स्थिर हुन सकेन ।
दुवैले पटकपटक धोका पाएको बुझाइपछि गत असार १७ गते कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति गरे । तर, चारपटक सफलता हात पारेका प्रचण्ड यसपटक चुक्न पुगेका छन् ।
पहिलोपटक शतप्रतिशतजस्तो विश्वासपछि डेढ वर्षमा पाँचौ पटकसम्म आइपुग्दा प्रचण्डले माओवादीको ३२, रास्वपाको २१ र नेकपा एसको १० सहितको जम्मा मत पाएका हुन् ।
पछिल्लो ९ वर्ष माओवादी कहिले आफैं नेतृत्व गर्ने, कहिले कांग्रेस त कहिले एमाले नेतृत्वमा सरकारमा रहँदै आएको थियो । तर, दुई ठूला दल नै एक आपसमा मिलेपछि माओवादी लामो समयपछि प्रतिपक्षी बन्ने स्थितिमा पुगेको हो ।