काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न नेपाली कांग्रेसले हस्ताक्षर बुझाएको छ । शुक्रबार साँझ नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको ओलीको कार्यकक्षमा बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यक्ष ओलीलाई ८८ सांसदको हस्ताक्षर बुझाएका हुन् ।
कांग्रेसका ८८ र एमालेका ७७ गरी १६५ सांसदको समर्थन लिएर ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्ने प्रमुख सचेतक रमेश लेखकले बताए । “राष्ट्रपतिमा प्रधानमन्त्रीको लागि दाबी पेस गर्ने पत्र तयार भइसकेको छ । कांग्रेसले समर्थन गर्ने र केपी ओलीजीले दाबी गर्ने पत्रमा हाम्रो सभापतिजीले हस्ताक्षर गरेर केपी ओलीजीलाई दिइसक्नु भयो”, लेखकले भने ।
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्ने छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकार ढलेको छ ।