काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार मात्र प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार आइतबार ५ बजेसम्मको समय दिइएकाले नियुक्ति पनि सोही दिन गर्ने भएको हो ।
संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिसमक्ष शुक्रबार साँझ नै दावी पेश गरिसकिएको छ । तर, ओलीको नियुक्ति र सपथग्रहण आइतबार मात्र हुनेछ ।
नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त हुन लागेका ओलीलाई अन्य सातवटा दलले समेत समर्थन जनाइसकेका छन् । ओलीले दोस्रोपटक दुई तिहाई बहुमतप्राप्त सरकारको नेतृत्व गर्ने मौका पाउँदैछन् ।