काठमाडौं । सरकार गठनको गृहकार्यमा जुटेका नेपाली कांग्रेस र नेकपा एमालेले लगभग मन्त्रालय बाँटफाँट टुंग्याएका छन् । आज एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त हुँदैछन् । ओलीसँगै मन्त्रीहरुको पनि सपथग्रहण गर्ने गरी एमाले र कांग्रेस गृहकार्यमा जुटेका हुन् ।
एक नेताका अनुसार कांग्रेस र एमालेले समान हैसियतमा मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र ओली बसेर मन्त्रालय बाँडफाँट तथा आ आफ्ना पार्टीका मन्त्रीको नामसमेत तय गरिसकेका छन् ।
दुई शीर्ष नेताले तयार पारेको मोडालिटी अनुसार कांग्रेसले गृह मन्त्रालय पाए अर्थ मन्त्रालय एमालेको भागमा पर्नेछ । २० वटा मन्त्रालयलाई प्रभाव, सामर्थ्थ र स्रोत साधनका आधारमा दुई–दुई वटामा विभाजित गरेर एक एक मन्त्रालय बाँड्ने सहमति भएको छ ।
कांग्रेसका एक नेताका अनुसार गृह र अर्थ, परराष्ट्र र सञ्चार, उर्जा र भौतिक पुर्वाधार, सहरी विकास र पर्यटनलाई एक श्रेणीमा राखिएको छ । त्यसअनुसार परराष्ट्र पाउनेले सञ्चार छाड्नेछ भने ऊर्जा पाउनले भौतिक पूर्वाधार छाड्नेछ । सहरी विकास एउटाले पाउँदा अर्कोले ऊर्जा पाउनेछ ।
त्यस्तै, स्वाथ्य र शिक्षा, उद्योग र कृषि, सामान्य प्रशासन र कानून, वन र भूमिसुधार, महिला बालिका र युवा खेलकुद, श्रम र रक्षामध्ये एक–एक मन्त्रालय बाँड्ने कांग्रेस र एमालेबीच सहमति भएको बताइएको छ ।
मन्त्रालय बाँडफाँट टुंगिएपछि सम्बन्धित पार्टीहरुले आ–आफ्ना मन्त्री टुंगो लगाउने र सकेसम्म प्रधानमन्त्रीसँगै मन्त्रिपरिषदलाई समेत पूर्णता दिने तयारी रहेको ती नेताले बताए ।