काठमाडौं । केन्द्रमा नेपाली कांग्रेस र एमालेबीच सत्ता समीकरण भएसँगै अल्पमतमा परेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा राजीनामा दिने अवस्थामा पुगेका छन् ।
केन्द्रमा कांग्रेसको समर्थनमा एमालेले सरकार गठन गर्दैछ । यससँगै लुम्बिनी सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिइसकेको छ । गत चैत २३ गते एमालेसहित ५ दलका ४८ सांसदहरुको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्री बनेका थिए । तर, अहिले माओवादीका १० र नेकपा एसका १ सांसदमात्रै उनको पक्षमा छन् ।
एमालेका २९ सांसदले असार २० गते नै समर्थन फिर्ता लिइसकेका छन् । यससँगै उनी अल्पमतमा परेका हुन् । त्यसअघि असार ९ गते नै जसपा नेपालमा सांसद अम्बिका काफ्लेले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएकी थिइन् ।
केन्द्रीय राजनीतिक समीकरण बदलिएर प्रदेश सरकार ढल्ने भएपछि मुख्यमन्त्री महरा राजीनामा दिने तयारी पुगेको उनी निकट एक नेताले बताए । ती नेताका अनुसार मुख्यमन्त्री महराले केही दिनभित्रै राजीनामा दिने तयारी गरेका छन् । असार मसान्तको समय भएकोले मात्र उनी रोकिएको ती नेताको भनाइ छ । उनले भने, ‘सदनमा विश्वासको मत लिने अवस्था छैन । त्यसैले उहाँले अब राजीनामा नै दिनुहुन्छ ।’
मुख्यमन्त्री महरालाई साथ दिएको ५ दलमध्ये १ सांसदसहित मन्त्री बनेकी नेकपा एसकी भगवती घिमिरेमात्रै पक्षमा छिन् । लुम्बिनीमा ८७ सदस्य प्रदेशसभा रहेको छ । बहुमत पु¥याउनका लागि ४४ सीट चाहिन्छ । तर, अहिले मुख्यमन्त्री महराको पक्षमा ११ सांसद मात्रै छन् । जसपा, लोसपा, जसपा नेपाल, जनमत र नागरिक उन्मुक्तिले नयाँ गठबन्धनलाई साथ दिने केन्द्रबाटै तयारी गरिहेका छन् ।
मुख्यमन्त्रीमा कांग्रेसको दावी
केन्द्रको प्रारम्भिक सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले पाउने छ । तर, कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहेका कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले नेताहरुलाई भेटेर आफ्नो दावी गरेका छन् । तर, लुम्बिनीमा ठूलो दल एमाले भएकाले कांग्रेसले पाउने सम्भावना कम छ ।
एमालेको नेतृत्वमा कांग्रेसबाट सरकारको नेतृत्व यसअघि मन्त्री बनेका दाङका राजु खनालले गर्ने कांग्रेस नेताहरुको भनाइ छ । एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले केन्द्रको समीकरण अनुसार आफूहरुले कांग्रेससँग औपचारिक र अनौपचारिक कुराकानी भइरहेको बताए । पहिले मुख्यमन्त्रीले मार्गप्रशस्त गरेपछि नयाँ प्रकृयामा जाने उनको भनाइ छ ।